२१ भदौ, एजेन्सी ।
मध्य केन्यामा एक बोर्डिङ स्कुलमा भएको आगलागीमा परेर सुतिरहेका १६ छात्रहरूको मृत्यु भएको छ । ‘द गार्जियन‘ का अनुसार शुक्रबार भएको उक्त आगलागीबाट अरू १७ जना घाइते भएका छन् ।
केन्याको न्युरी काउन्टीमा रहेको एउटा प्राथमिक बोर्डिङ स्कुल हिलसाइड इनरशा एकेडेमीमा आगलागी भएको हो । केन्या प्रहरीका प्रवक्ता रेसिला ओन्यांगोका अनुसार घटनास्थलमा पुगेको प्रहरीले १४ जनालाई उद्दार गरी अस्पताल पठाएको छ ।
केन्या सरकारका प्रवक्ता इसाक एमाउराले कक्षा ४ देखि ८ सम्म पढ्ने नौदेखि १३ वर्षका छात्रहरूको मृत्यु भएको हो । उक्त विद्यालयमा १५६ विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।
आगलागीको कारण भने तत्काल खुल्न सकेको छैन । सामाजिक सञ्जालमार्फत् घटनाको पुष्टि गर्दै केन्याका राष्ट्रपति विलियम रुटोले दुःख ब्यक्त गरेका छन् ।केन्यामा प्रायःगरी विद्यालयमा आगलागीका घटना हुने गरेका छन् । सन् २०१७ मा केन्याको राजधानी नैरोबीस्थित एक स्कुलमा भएको आगलागीमा परेर नौ विद्यार्थीहरूले ज्यान गुमाएका थिए ।
सन् २००१ मा पनि नैरोबीकै क्यांगुली सेकेन्डरी स्कुलबाहिर भएको आगलागीमा परेर ५८ जनाको मृत्यु भएको थियो । सन् २०१२ मा भने उत्तरी केन्यामा रहेको एक विद्यालयमा आगलागीमा परेर आठ विद्यार्थीहरू मारिएका थिए ।