२४ भदौ, एजेन्सी
चौथो संस्करणको युरोपियन नेसन्स लिगमा डिफेन्डिङ च्याम्पियन स्पेनले पहिलो जित दर्ता गरेको छ । आइतबार राति समूह चरणअन्तर्गत दोस्रो खेल खेलेको स्पेनले स्विट्जरल्यान्डलाई ४-१ गोलले हराएको हो ।
स्विट्जरल्यान्डको ल्यान्सीमा भएको खेलमा स्पेनलाई जिताउन फाबियन रुइजले दुई गोल गर्दा जोसेलु र फेरान टोरेसले एक-एक गोल गरे । स्विट्जरल्यान्डका जेकी अम्दौनीले एक गोल फर्काए ।
खेलको चौथो मिनेटमा लामिन यामलको क्रसमा जोसेलुले हेडरमार्फत गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाए । १३औं मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाए ।
खेलको २०औं मिनेटमा डिफेन्डर रोबिन लो नोर्मान्डले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्पेन १० खेलाडीमा समेटिन पुग्यो ।त्यसैको फाइदा उठाउँदै स्विट्जरल्यान्डका अमडोनीले ४१औं मिनेटमा गोल गरे ।
तर, रुइजले ७७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको अग्रता ३-१ को बनाए । त्यसको तीन मिनेटपछि वैकल्पिक खेलाडी फेरान टोरेसले अर्को गोल गर्दै स्पेनलाई ४–१ को जित दिलाए ।
जितसँगै स्पनले दुई खेलमा चार अंक जोडेको थियो । यसअघि पहिलो खेलमा उसले सर्बियाँसग एक-एक अंक बाँडेको थियो ।