३१ भदौ, काठमाडौं ।
विश्वकै धनाढ्य व्यक्ति तथा माइक्रोसफ्ट संस्थापक बिल गेट्सलाई चिया बनाएर पिउन दिएपछि चर्चामा आएका डली चायवाला सोमबार झापा आइपुगेका छन् । दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित सोमबार उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् ।
आज अपराह्न चायवाला झापा आइपुगेको उनलाई नेपाल ल्याउने संस्था ग्लोबल इनोभेसन पार्टनरका आरिफ अलीले बताए । नेपाल-भारत सीमानजिक रहेको विमानस्थल बागडोरा एयरपोर्टबाट आयोजकले झापासम्म ल्याएका थिए ।
डली चायवाला धुलाबारीको पाँचतारे होटल मेची क्राउन प्लाजामा बसेका छन् । त्यहाँको लंका रिसोर्टमा उनले चिया बनाएर अतिथिलाई खुवाउनेछन् । डली चायवाला मंगलबार बेलुका काठमाडौं आउनेछन् । काठमाडौंमा उनले केही शैक्षिक परामर्शदाता संस्थासँगको मिट एण्ड ग्रीटमा भाग लिनेछन् ।
हेलिकप्टरबाट काठमाडौं र पर्वतीय उडान भर्ने उनको कार्यक्रम छ । काठमाडौंमा रहँदा उनी पाँचतारे होटल सोल्टीमा बस्नेछन् । काठमाडौंबाट उनलाई तीन दिन पोखरा घुमाउने तयारी रहेको अलीले जनाए ।
खासगरी, झापास्थित भद्रपुरमा रहेको ग्लोबल इनोभेसन पार्टनर नामक कन्सल्टेन्सीका प्रतिनिधि बनेर आरिफले चायवालालाई बोलाएका हुन् । अलिले एक पडकास्टको अतिथि बनाएर डली चायवालालाई नेपाल ल्याएका हुन् ।