८ कार्तिक , काठमाण्डौ ।
साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो समूहको अन्तिम खेलमा श्रीलंकासंग प्रतिस्पर्धा गर्दैछ । जारी संस्करणमा समूह ‘बी’मा रहेको नेपाल सेमिफाइनल पुग्नका लागि आजको खेलमा निश्चित जितको लक्ष्यमा रहेको छ ।
दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० मा सुरु हुनेछ । श्रीलंकाविरुद्ध मैदानमा उत्रिँदा आज पहिलो पटक स्टार स्ट्राइकर सावित्रा भण्डारी सुरुवाती ११ मा रहेर मैदान उत्रिँदैछिन् । किनकी नेपाल फराकिलो जितसहित समूह विजेता बनेर सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
जहाँ नेपालले भारतको सामना गर्ने पक्का हुनेछ । जारी सिजन पहिलो खेलमा भुटानविरुद्ध अप्रत्यासित गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा समूहकै कमजोर माल्दिभ्स माथि एक पक्षीय रुपमा ११–० को जित निकाल्यो ।
गोल अन्तरमा भुटानभन्दा निकै अघि रहेको नेपालले श्रीलंकालाई पराजित गरेमा सेमिफाइनल पक्का हुनेछ । तर समूह विजेताका लागि भने भुटानसँगको गोल अन्तरमाअघि हुनु पर्नेछ । नेपाललाई हराएको खण्डमा श्रीलंकाको पनि सेमिफाइनलको संभावना रहने भएकाले श्रीलंका अप्रत्यासित नतिजाको प्रयासमा मैदान उत्रिने छ ।
पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० ले पराजित गरेको श्रीलंका दोस्रो खेलमा भुटानसँग ४–१ को पराजित भएको हो । तर, साफ च्याम्पियनसिप सातौं संस्करणसम्म आइपुग्दा कुनै टिमले पनि ‘उलटफेर’ गर्न सकेका छैनन् ।
त्यसैले श्रीलंकाबाट त्यो अपेक्षा रहने छैन् । श्रीलंकाका प्रशिक्षक मोहम्मद हुसेन रुमीले अन्तिम समयसम्म लड्ने बताएपनि उनी नेपाललाई हराउनेमा विश्वस्त सुनिएका थिएनन् । नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङ भुटानविरुद्धको बराबरी पछि त्यति उत्साहित छैनन् ।
यद्यपि, उनी सेमिफाइनल पुग्नेमा निश्चिन्त छन् । उनले माल्दिभ्सविरुद्धको गोल वर्षालाई अस्वभाविक मानिँदैन् । यद्यपि, उनले अबको लक्ष्य श्रीलंकालाई हराउनुनै भएको बताए । साफ च्याम्पियनसिपमा नेपालले श्रीलंकासँग पाँच पटक खेलेको छ ।
जसमा नेपालले सबै खेल जितेको छ । यी खेलहरुमा कूल १७ गोल भएका छन् । सबै गोल नेपालको पक्षमा गएको छ । १६ गोल आफ्नो खेलाडीले गरेका हुन् भने एक गोल नेपालले आत्मघाती उपहार पाएको थियो ।
अहिलेसम्म नेपालको पोस्टमा गोल गर्न असफल श्रीलंका त्यो इतिहास भने फेर्ने पक्षमा छ । समूह ‘ए’बाट बंगलादेश र भारत अन्तिम चारमा प्रवेश गरिसेकेका छन् । दुई खेलबाट बंगलादेशको ४ तथा भारतको ३ अंक रह्यो ।
१ अंक रहेको पाकिस्तान भने समूह चरणबाटै घर फर्किएको छ । नेपालको खेलअघि आजै भुटान र माल्दिभ्स भिड्ने छन् । जहाँबाट सेमिफाइनल पुग्ने समूह ‘बी’को एउटा टिमको तय हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेलमा साढे १ बजे हुनेछ ।
बिहीबारको नतिजाबाट समूह बीको विजेता बन्ने टोलीले समूह एको उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ भने समूह बीको उपविजेता बन्ने टोलीले समूह एको विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको भारतमाथि बुधवार ३–१ को जित निकाल्दै बंगलादेशले पनि अन्तिम चारको यात्रा तय गरेको हो । बंगलादेशको यो जितसँगै सेमिफाइनलमा पुग्ने पाकिस्तानको आशा समाप्त भयो ।
भारतले बंगलादेशमाथि जित निकाल्दा पाकिस्तान समूह ए को उपविजेताको रूपमा सेमिफाइनलमा पुग्ने समीकरण थियो । तर पाकिस्तानको चाहनाअनुरूप नतिजा भएन । यससँगै बंगलादेश समूहविजेता र भारत उपविजेताको रूपमा सेमिफाइनलमा पुगे ।
समान दुई खेलबाट बंगलादेशले चार अंक, भारतले तीन र पाकिस्तानले एक अंक बटुल्यो । समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशले पाँच पटकको विजेता भारतमाथि दबाब बनाउँदै जित निकालेको हो ।
अहिलेसम्मको प्रदर्शन र आँकडा हेर्दा नेपालको सेमिफाइनलमा भारतसँग भेट हुने सम्भावना अधिक देखिएको छ । दुई खेलको समाप्तिमा नेपाल र भुटान दुवैको समान ४–४ अंक छ भने श्रीलंकाको ३ अंक छ ।
दुवै खेल हारेर अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको माल्दिभ्सका लागि भुटानसँगको खेल औपचारिकता मात्र सीमित हुनेछ । तर त्यही खेल भुटानका लागि महत्त्वपूर्ण छ । खेल भुटानले जिते उसको ७ अंक हुनेछ भने बराबरीले ५ अंक या हारले ४ अंकमै सीमित बन्नेछ ।
अन्तिम खेलमा नेपालसँग श्रीलंकाको भिडन्त भएकाले, श्रीलंकालाई भने अर्को चरणमा जान खेल जित्नै पर्नेछ । सो खेल जितेमा नेपालको प्रतियोगिताबाटै बाहिरिने पनि सम्भावना हुन सक्छ । तर श्रीलंकालाई भुटानले पनि सहजै जितेको र भुटानसँग बराबरी खेले पनि नेपालले एकपक्षीय खेल पस्किएकाले उसका सामु श्रीलंकाको जितको सम्भावना असम्भव देखिन्छ ।
यो खेलमा नेपाली सर्वाधिक गोलकर्ता सावित्रा भण्डारीले पनि खेल्ने हुँदा माल्दिभ्ससँगको खेलमा जस्तै हुनसक्ने आँकलन गरिएको छ । नेपाल गएका ६ वटा संस्करणमा ५ वटामा उपविजेता र एउटामा सेमिफाइनलमा रोकिएको थियो ।
श्रीलंका सेमिफाइनलभन्दा माथि उठ्न सकेको छैन । नेपालमा लगातार तेस्रोपटक महिला साफ च्याम्पियनसिपको आयोजना भइरहेको छ । यसअघि सन् २०१९ र २०२२ मा नेपालमै साफ आयोजना भएको थियो ।
सन् २०१० देखि प्रत्येक दुई–दुई वर्षमा हुने साफमा नेपालले उपाधि भने जित्न सकेको छैन । साफका हरेक संस्करणमा भारत हाबी भइरहँदा नेपाल पाँच पटक उपविजेतामा सीमित बनेको छ । अघिल्लो संस्करणमा भने घरेलु टिम नेपाल बंगलादेशसँग ३–१ गोलले नै हा¥यो । अब, यसपालि भने नेपालले उपाधि घरमै राख्ने योजना बनाएको छ ।