भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त

भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त

१३ कार्तिक , काठमाण्डौ।

तिहार शुरु हुन लागेसँगै यतिबेला भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका पालादेखि कलशहरु बनाउन यतिबेला प्रजापती समुदायलाई भ्याइनभ्याइ छ । माटोका भाँडा अरु बेला पनि माग आउने गरे पनि तिहारको समयमा भने अन्य समयको तुलनामा बढी माग आउने प्रजापती समुदायको भनाइ छ ।

माटोका भाँडाको माग प्रत्येक वर्ष बढ्दै गइरहे पनि भाँडा बनाउने माटो प्राप्त गर्न भने कठिन हुँदै गएको उनीहरुको भनाइ छ । शुरुमा जता गएपनि माटो खनेर ल्याउन पाइने तर अहिले प्लटिङका कारण माटो पाउन मुस्किल भएको गुनासो प्रजापती समुदायको छ ।

भक्तपुरका गणेशकुमार प्रजापतीले आफूले सानैदेखि माटोको भाँडो बनाउने काम गरेको भन्दै माग राम्रो आएको सुनाए । पालाको मूल्य पहिला पनि दुई रुपैयाँ र अहिले पनि सोही मूल्यमा विक्री गरिरहेको उनले बताए ।

विगतको दाँजोमा माग केही घटेको भएपनि माटोका भाँडाको माग अहिले पनि रहेको उनी भन्छन् । पहिला भक्तपुरकै विभिन्न ठाउँबाट माटो खनेर ल्याउन पाउने भएपनि अहिले साँखु लगायत काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट किनेर ल्याउनुपरेको छ ।

माटोका भाँडा बनाउनका लागि माटो पेल्न, मुस्न, सुक्न र पाक्न समय लाग्छ । माटो एक दिनमै सुक्ने भएपनि सबै काम सक्नका लागि १५ दिनको समय लाग्ने गरेको छ । उनी भन्छन्, पहिला काग तिहार आएपछि बेच्न जानुपर्ने भएपनि अहिले माटोका भाँडा लिन घरमै आउने गरेका छन् ।

प्रजापतीका अनुसार सामानहरु बनाइराख्दा जहिले पनि विक्री गर्न असहज छैन । यता पहिला आफूले पैसाको कमी हुँदा लसुन, सागसँग माटोका भाँडा साट्ने गरेको सम्झन्छन् हरिओम प्रजापती ।

उनी भन्छन्, ‘यो पहिला गल्ली गल्ली छिरेका बेच्ने गर्दथ्यौँ । पैसा कम थियो त्यो बेलामा । लसुन, अन्न जोसँग जे थियो, त्योसँगै साट्थ्यौँ । घरमा बेच्न जाँदा बुढी आमै हुन्छ, पैसा हुँदैन, साग, लसुनसँग साट्थ्यौँ ।’ बुढा भएका आमा, दिदिबिहिनीसँग पैसा नहुँदा साग, लसुनसँग भाँडा साटेको स्मरण गर्दै जोसँग जे अन्न वा अन्य कुराहरु हुन्थे त्यही लिएर भाँडा दिने गरेको बताए ।

अहिले माटो पाउन कठिन रहेको उनको भनाइ छ । माटो लिन पाइने ठाउँमा अहिले प्लटिङ भएको र माटोका भाँडा बेचेर खासै फाइदा नरहेको गुनासो गर्छन । सरकारले माटोको व्यवस्था गर्नसके मात्रै आफूहरुको पेशा लोप नहुने उनको भनाइ छ ।

उनले भने, ‘माटो लिने ठाउँमा घर, प्लटिङ भइसक्यो माटो छैन । अहिले माटोको भाँडा बेचेर खासै फाइदा छैन । सरकारले माटो दिनुपर्छ । किनेर साध्य छैन् । त्यसैले यो लोप हुँदै गएको छ ।’ अर्का स्थानीय एवं माटोका भाँडा व्यापारी विनोदकुमार प्रजापती पुर्खादेखिको पेशा भएकाले चट्टै छोड्न नमिल्ने बताउछन ।

पुख्र्यौली पेशा भएकाले माटोका भाँडा बनाउने काम गर्दै आएको जनाए । पुरानै मूल्यमा भाँडा बेच्नुपर्दा उनलाई लागत मूल्य नै नउठ्ने चिन्ता भने छ । तिहारमा विशेष गरी पाला मात्रै बिक्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘हाम्रो यो माटोको भाँडा बनाउने पुख्र्यौली पेशा हो । बाजे बराजुले बनाउनु हुन्थ्यो । हामी पनि बनाइरहेका छौँ । पुरानै रेटमा छ दियो । तिहारमा विशेष गरेर यो पाला मात्रै बिक्छ । अरु बेला सिजनअनुसारले सामानहरु बिक्छ । सदावाहर खुत्रुके, धुपाउरो, सामान बनाउन माटोको अभाव छ । दाउराको अभाव छ । इन्धनको समस्या छ । सहज रुपमा भए काम सुचारु हुन्छ।’

अरु बेला भने सिजनअनुसारले सामानहरु विक्री हुने गरेको उनले जनाए । खुत्रुके, धुपाउरो जस्ता सामानहरु भने सदावाहर विक्री हुने गरेको छ । माटो पकाउनका लागि भने यो समुदायलाई इन्धन ((दाउरा)को अभाव रहेको छ । माटोको भाँडा बनाउँदै आएका रोशन प्रजापतीको गुनासो पनि माटोको अभाव नै रहेको छ ।

उनले ३५ वर्षदेखि माटोका भाँडाहरु बनाउँदै आएका छन् । पहिला वर्षहरु भन्दा यस वर्ष माटोका भाँडाहरुको माग घटेको उनको ठम्याई छ । अहिलेको आर्थिक अवस्थाले गर्दा पनि माग घटेको हुनसक्ने उनको अनुमान छ ।

उनी भन्छन्, ‘३५ वर्ष जति भयो मैले गर्दै आएको । पहिलो वर्ष भन्दा यस वर्ष माग धेरै घटिरहेको छ । अहिले आर्थिक अवस्था पनि कमजोर छ । त्यसैले हो कि । हाम्रो आफ्नै परिवारले गर्ने काम भएकाले ठिकै गुजारा चलिरहेको छ ।’

प्रजापती परिवारले नै गर्ने काम भएकाले कामलाई निरन्तरता दिएको र गुजारा चलिरहेको उनको भनाइ छ । माटोका भाँडा बनाउने प्रजापती समुदायलाई अहिले सरकारले माटोको व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने लाग्छ । माटो पाउन मुस्किल हुँदै गएपछि आफ्नो पुस्तौंदेखिको पेशा लोप हुने चिन्ता प्रजापती समुदायलाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.