१६ कार्तिक , एजेन्सी ।
विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र अर्काे शक्ति राष्ट्र संयुक्त अधिराज्य बेलायतमा समेत यसवर्षको दीपावली मनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस र बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटमा समेत दीपावलीको दीप प्रज्वलन गरिएको छ ।
दुवै देशमा उल्लेखीय संख्यामा रहेका हिन्दु समुदायको दोस्रो ठूलो चाड तिहार अन्र्तगतको लक्ष्मीपूजाका दिन अमेरिका र बेलायतमा समेत मनाइएको छ।राष्ट्रपति निर्वाचनको अन्तिम तयारीमा रहेको अमेरिकाको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा हिन्दू धर्मावलम्बीहरुको महान पर्व दिपावलीको अवसरमा दीप प्रज्वलन तथा लक्ष्मी पूजा आयोजना भएको छ ।
राष्ट्रपति भवनमा आयोजित दिपावलीमा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस पनि सहभागी थिइन् । ह्यारिस हिन्दू धार्मिक परिवारकी हुन् । राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावलीको उत्सव आरम्भ गरेका थिए ।
दीपावलीमा करिव ६ सय जना दक्षिण एसियाली हिन्दू धर्मावलम्वी पाहुनाहरू सहभागी रहेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । दीपावलीको अवसरमा राष्ट्रपति जो बाइडेन, राष्ट्रपतिका दुबै उम्मेदवार कमला ह्यारिस र डोनल्ड ट्रम्पले पनि अमेरिकामा रहेका सबै हिन्दू धर्मवालम्वीहरूलाई शुभकामना दिएका छन् ।
उता बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले दीपावली प्रधानमन्त्री कार्यालयमै मनाएका छन्। प्रतिपक्षी नेता तथा बेलायतका प्रथम हिन्दू प्रधानमन्त्री ऋषि सुनकले टोरिज दलको नेताबाट राजीनामा दिएका छन् ।
दीपावलीकै दिन नेता भएर सोहि दिन राजीनामा दिएको उनले बताएका छन्। दीपावली सन्देशमा बेलायती प्रधानमन्त्री केइर स्टार्मरले भनेका छन, ‘ शुभ दिवाली ।’ प्रधानमन्त्रीको निजी तथा कार्यालय दुवैको सामाजिक संजालबाट दीपावलीको शुभकामना दिइएको छ ।
अन्धकारलाई उज्यालोले जित्ने, सबै भेला हुने र प्रकाशको पर्व भन्दै प्रधानमन्त्रीले शुभकामना दिएका छन्। अमेरिकामा ३३ लाख हिन्दुको बसोबास रहेको अनुमान छ । उता बेलायतमा भने साढे १० लाख हिन्दुको बसोबास रहेको पछिल्लो तथ्याङकले देखाएको छ ।