१० मंसिर, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अतिप्रिय पात्र, धनाढ्य गौतम अडानी जति आफ्नो देशमा शक्तिशाली छन्, उति नै विदेशमा बदनाम हुन थालेका छन्। उनी र उनको अडानी समूहमाथि विदेशी सरकारहरुले एकपछि अर्को आरोप लगाएका छन् र छानविन गर्न लागेका छन् ।
अमेरिकामा घुसखोरीको आरोपमा घेरिएको अडानी समूह अब बंगलादेशमा पनि शंकाको घेरामा आएको छ । शेख हसिना प्रधानमन्त्री हुँदा बंगलादेशमा अडानी समूहसँग भएको ऊर्जा सम्झौताको छानबिन गर्न एजेन्सी गठन गर्न सिफारिस गरिएको छ ।
यसका साथै शेख हसिनाको कार्यकालमा भएका अन्य ६ वटा ठूला ऊर्जा र ऊर्जा सम्झौताको पनि छानबिन गर्न पनि माग गरिएको छ । एक आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘ऊर्जा तथा खनिज स्रोत मन्त्रालयको समीक्षा समितिले सन् २००९ देखि २०२४ सम्मका विद्युत उत्पादन सम्झौताका सम्बन्धमा भएका सम्झौताहरूको छानबिन गर्न एजेन्सी नियुक्त गर्न सिफारिस गरेको छ ।’
अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ– ‘छानबिन समितिले ७ वटा ठूला ऊर्जा तथा विद्युत आयोजनाको समीक्षा गरिरहेको छ । यसमा अदानीले १२३४.४ मेगावाट कोल फायर प्लान्ट पनि समावेश छ।’
अन्य ६ वटा सम्झौतामध्ये १३२० मेगावाटको कोइलाबाट चल्ने बिजुली प्लान्ट निर्माण गर्ने चिनियाँ कम्पनीसँग एउटा सम्झौता पनि परेको छ । समितिले धेरै प्रमाणहरू सङ्कलन गरेको पनि विज्ञप्तिमा भनिएको छ, जसका आधारमा अन्तर्राष्ट्रिय कानुन र प्रक्रियाबमोजिम सम्झौता खारेज वा पुनर्विचार गर्नुपर्छ।
यसबाहेक अन्य धेरै ठेक्का छानबिन गर्न थप समय मागेको छ । अदानी समूहको गोड्डा पावर प्लान्ट समूहको पहिलो अन्तर्राष्ट्रिय पावर प्लान्ट हो । यसमा झारखण्डको गोड्डामा १६०० मेगावाटको थर्मल पावर प्लान्ट स्थापना गरिएको थियो ।
जसका कारण बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)लाई प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । सन् २०१६ मा शेख हसिना सरकारसँग यस सम्बन्धमा सम्झौता भएको थियो ।
उता अमेरिकामा अडानीलाई घुस तथा धोखाधडीको योजनामा संलग्न रहेको अभियोगमा मुद्दा दायर गरिएको छ । अडानीविरुद्ध २५ करोड अमेरिकी डलर बराबरको घुस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोपमा न्यूयोर्कमा अभियोगपत्र दर्ता गरिएको हो ।
उनी र उनका भतिज सागर अडानीसहितका ७ जनामाथि सौर्य उर्जा प्लान्ट परियोजना निर्माणको ठेक्का हात पार्न भारतका सरकारी अधिकारीलाई घुस दिन सहमति जनाएको अभियोग लगाइएको हो ।
नवीकरणीय उर्जासम्बन्धी अडानीको कम्पनीले उक्त परियोजनाबाट २० वर्षको अवधिमा २ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउने अपेक्षा गरिएको थियो ।
अडानी र उनको अडानी ग्रीन इनर्जी कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृत विनित जैन मिलेर भ्रष्टाचारका कुरा गोप्य राख्दै अमेरिकी फर्म लगायतका लगानीकर्ताबाट ३ अर्ब डलर लगानी उठाएको समेत अभियोगपत्रमा उल्लेख छ ।
अडानीको कम्पनीका कार्यकारीहरूले आफ्नो समूहका घुसविरोधी नीति तथा घुससम्बन्धी अनुसन्धानका प्रतिवेदनका नक्कली कागजात पेस गरेर अमेरिकीसहित विभिन्न फर्मबाट ३ अर्ब डलर बराबरको कर्जा र बन्डहरू उठाएको अभियोजनकर्ताहरूको दाबी छ।
यसबारे अडानी समूहले भने हालसम्म कुनै टिप्पणी गरेको छैन । ६२ वर्षे अडानीले बन्दरगाह र विमानस्थल निर्माण तथा सञ्चालनदेखि नवीकरणीय ऊर्जाको विस्तारसम्म व्यापार– व्यवसायको साम्राज्य खडा गरेका छन् ।
विभिन्न कम्पनीहरूलाई संलग्न गरी अमेरिकामा चलिरहेको अडानी ग्रीन एनर्जी सन् २०२३ देखि शंकाको घेरामा रहँदै आएको छ । अमेरिकाले सन् २०२२ देखि अडानीको कम्पनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
अडानी समूहले जालसाजी गरेको आरोप लगाउँदै न्यूयोर्कस्थित उच्च प्रतिष्ठित कम्पनी हिन्डेनबर्ग रिसर्चले प्रतिवेदन सार्वजनिक गरेपछि समूहमाथि शंका उत्पन्न भएको थियो । प्रतिवेदनमा गरिएका दाबीहरूलाई अडानीले अस्वीकार गरेका थिए ।
उक्त प्रतिवेदन सार्वजनिक भएसँगै अडानी ग्रुपको सेयर र अन्य कारोबारमा ठूलो गिरावट आएको थियो । हिन्डेनबर्गले सार्वजनिक गरेको रिपोर्टको जवाफमा अडानी ग्रुपले ४ सय १३ पेजको खण्डन प्रकाशन गरेको थियो ।
त्यसपछि दुई पक्षबबीच वाकयुद्ध नै चलेको थियो । खण्डनमा अडानी समूहले हिन्डेनबर्गलाई ‘म्याड्स अफ म्यानह्याटन’ भन्दै कम्पनीको रिपोर्टलाई ‘भारत, यसको स्वतन्त्रता, अखण्डता एवं आर्थिक वृद्धि तथा महत्त्वाकांक्षा माथिको नियोजित आक्रमण’ भनेको थियो ।
कतिपयले भारतको आर्थिक वृद्धिको ‘मोदी मोडल’ को अडानीले प्रतिनिधित्व गरेका र हिन्डेनबर्गको प्रतिवेदनले ‘कुलीन वर्ग र पक्षपाती लोकतान्त्रिक शक्तिबीचको साँठगाँठलाई नाफामा बदल्ने अडानी ग्रुपको अभियानमा धक्का पु¥याएको’ बताएका थिए ।
अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी हुन् । लामो समयदेखि मोदीसँगको राजनीतिक सम्बन्धबाट अडानीले फाइदा लिएको भारतका विपक्षी राजनीतिज्ञहरूको आरोप छ । तर ती आरोपलाई उनले खण्डन गर्दै आएका छन् ।