Nepal Times
Nepal Times
3
Shares

एमबाप्पेको प्रदर्शन निराशाजनक, च्याम्पियन्स लिग जित्न सकस

एमबाप्पेको प्रदर्शन निराशाजनक, च्याम्पियन्स लिग जित्न सकस

१३ मंसिर , एजेन्सी ।
रियल मड्रिडमा बसाइ सरेपछि पहिलो सिजनमै च्याम्पियन्स लिग जित्ने केलियन एमबाप्पेको सपना डगमगाउँदै गएको छ । फ्रान्सेली स्टारले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्नुको मुख्य उद्देश्य च्याम्पियन्स लिग जित्नु नै रहेको बताएका थिए ।

तर, बुधबार लिभरपुलसँगको २–० हारसँगै रियल पहिलो चरणमै प्रतियोगिताबाट बाहिरिने जोखिम बढेको छ । यता लिभरपुल भने युइएफए च्याम्पियन्सिप लिगको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा एमबाप्पेको प्रदर्शन निराशाजनक रह्यो । घरेलु टोलीका युवा डिफेन्डर कोनोर ब्राडलीलाई छिचोल्न उनी बारम्बार संघर्ष गरिरहेका थिए । उनले खेललाई बराबरीमा ल्याउने महत्त्वपूर्ण पेनाल्टी अवसर पनि चुकाए ।

रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले एमबाप्पेको फर्मप्रति धैर्य गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘उनी अहिले कठिन समयबाट गुज्रिरहेका छन् । कहिलेकाहीँ आत्मविश्वासको कमीले खेलमा असर गर्छ ।

तर, एमबाप्पे असाधारण खेलाडी हुन् र उनी यो अवस्थाबाट चाँडै पुनरागमन गर्नेछन्।’ लिभरपुलका नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा टोलीले शानदार खेल देखाउँदै पाँच खेलपछि शतप्रतिशत जितसहित १५ अंकसहित तालिकाको शीर्ष स्थान सुरक्षित गरेको छ ।

दोस्रो हाफमा एलेक्सिस म्याक एलिस्टरको गोलसँगै लिभरपुलले सुरुआती अग्रता लियो । यद्यपि, मोहम्मद सलाहले पेनाल्टीको मौका गुमाए । तर, कोडी गाक्पोको गोलले लिभरपुलले २–० को जित सुनिश्चित ग¥यो ।

यस सिजनको नयाँ लिग चरण प्रारूपमा रियल ६ अंकसहित २४औं स्थानमा छ । शीर्ष आठ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् भने ९ देखि २४औं स्थानका टोलीले प्लेअफ खेल्नुपर्नेछ । एमबाप्पेले रियलका लागि १८ खेलमा नौ गोल गरेका छन् ।

तर, च्याम्पियन्स लिगमा उनको प्रदर्शन अपेक्षाकृत कमजोर छ । उनी भन्छन्, ‘अहिले चुनौतीपूर्ण समय छ, तर हाम्रो लक्ष्य अझै उस्तै छ उपाधि जित्ने।’ रियलले अब एटलान्टासँग खेल्ने तयारी गरिरहेको छ भने लिभरपुलले जिरोनाको सामना गर्नेछ ।

यदि आफ्नो उच्च लय कायम राख्न सक्यो भने यो सिजन लिभरपुलका लागि ऐतिहासिक बन्ने सम्भावना देखिन्छ । एमबाप्पे र रियलका लागि भने यो कठिनाइबाट बाहिर निस्कने समय हो । गएराति भएका अरु खेलमा एस्टन भिला र युभेन्ट्सले गोलरहित बराबरी खेलेका छन् ।

यस्तै बेनिफिकाले मोनाकोलाई ३–२ ले हराउँदा साख्तर डोनेत्स्क पनि पीएसभीसँग ३–२ ले पराजित भएको छ । यसैगरी सेल्टिक र क्लब ब्रुग्गीले १–१ गोलको बराबरी खेलेका छन् भने लिले ओलम्पिकले बोलोग्नालाई २–१ ले हराएको छ ।

यसअघि हिजोको खेलमा भीएफबी स्टुटगाट क्रेभेना जेभेज्दासँग र स्पोर्टिङ क्लब आर्सनलसँग समान ५–१ गोलले पराजित भएका थिए । यस्तै एसके एटुर्म ग्राजले गिरोनालाई १–० गोलले हराएको थियो भने बोरुसिया डर्टमन्डले डिनामो जग्रेबलाई ३–० गोलले हराएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.