Nepal Times
Nepal Times
3
Shares

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

२७ मंसिर , काठमाण्डौ।

साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

साइबर अपराधको आरोपमा उनीविरुद्ध बुधवार मुद्दा दर्ता भएको थियो। न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईँलाई रिहा गर्न आदेश दिएको श्रेष्तेदार रामु शर्माले बताएका छन् । शर्माका अनुसार विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरिएको थियो।

ऐनमा यस्तो अपराध गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद सजायको व्यवस्था भए पनि प्रसाईँमाथि यसअघि पनि यस्तै आरोप लागेको हुँदा डेढी सजाय अर्थात् जम्मा ७.५ वर्ष कैद सजायको माग गरिएको थियो। तर अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

उताआपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धान गरिरहेकाले उनी तत्काल भने छुट्ने छैनन् । यसअघि उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होबिन्द्र बोगटीले साइबर अपराधमा छुटे पनि आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले तत्काल नछुट्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई उनकै घर भक्तपुरबाट पक्राउ गरेको थियो । तर साइबरको कसुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीबारे आफूले फेक कागजात तयार नपारेको भन्दै प्रसाईंले बयान दिएका छन् ।

कम्बोडियामै बस्ने नेपालीले पठाएको विवरणहरु आफूले सार्वजनिक गरेको भन्दै प्रसाईं बयान दिएका छन् । यस्तै भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारीहरुलाई धम्क्याएको आरोपमा आपराधिक लाभ र संगठित अपराधको कसुरमा प्रसाईंविरुद्ध सीआईबीले पनि अनुसन्धान अघि बढाइरहेको छ ।

अब साइबर अपराधको अभियोगबाट प्रसाईं तत्काललाई मुक्त भएपनि आपराधिक लाभ र संगठित अपराधको कसुरमा उनीमाथि अनुसन्धान जारी रहेकाले उनी तत्कालै हिरासतमुक्त हुने संभावना भने कम रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.