१३ फागुन, काठमाण्डौ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उसो त आफूलाई शान्त, भद्र, साधुसन्यासी आचरणको मान्छे भन्न रुचाउँछन् । उनले आफू बस्ने घरदेखि, आफ्नो आचरणसम्म सन्यासी भएको कयौं पटक बताएका छन् ।
यद्यपि, उनी माओवादी भित्रपनि हक्की, आफ्ना कुरा प्रष्ट राख्ने, आफ्नो अडानमा डट्ने नेताका रुपमा नै चिनिन्छन् । तर सोमबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा नारायणकाजी अलि फरकरुपमा देखिए ।
उनीजस्ता नेताले सार्वजनिक कार्यक्रममा त्यो पनि आफ्नै पार्टीको कार्यक्रममा हिजो देखाएको जस्तो व्यवहार देखाउलान् भनेर सायदै कसैले सोचेका थिएनन् । तर सोमबारको घटनापछि आफूलाई सन्यासी भन्ने गरेका नारायणकाजीलाई यतिबेला सामाजिक संजालमा सन्काहा,नखरावाल,झंकाहा, घमण्डी लगायतको ट्याग झुण्ड्याइ दिइएको छ ।
त्यो पनि माओवादी नेता कार्यकर्ताहरुले नै । भएको के थियो भने, माओवादी केन्द्रले ’जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सोमबारदेखि झापाबाट सुरु गरेको छ । सोही अभियानकै उद्घाटन समारोहमा पार्टीका वरिष्ठ उपाध्यक्षको मञ्चमै पारो तात्यो, सयौं कार्यकर्ता र पार्टीअध्यक्षसहित शीर्ष नेताहरुको अगाडी, त्यो भन्दा पनि सारा मिडियाका क्यामेरा र सामाजिक संजाल प्रयोगकर्ताका मोवाइलका अगाडी ।
त्यसपछि नारायणकाजीको त्यो भिडियो भाइरल नहुने कुरै भएन । खासमा यो घटनाले माओवादी शीर्ष नेतृत्वबीचको असमझदारी पुनः सतहमा ल्याइदिएको छ । भएको के थियो भने, झापाको कचनकवलस्थित बनियानी बजारमा आयोजित कार्यक्रममा पार्टी पदाधिकारीहरूले पालैपालो मन्तव्य राखे ।
अध्यक्ष दाहालले सबै पदाधिकारीलाई बोल्न आग्रह गर्दै पार्टीभित्र उठेका प्रश्नहरूको समाधान दिन खोजिएको बताए । तर, मन्तव्यका क्रममा कार्यक्रम सञ्चालक राजु आचार्य पोडियम अगाडि उभिएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ असन्तुष्ट बनेका थिए ।
श्रेष्ठले, ‘तपाईं मलाई मन्तव्य छोट्याउनुस् भन्नलाई अगाडि देखा पर्नुभएको ?,’ भन्दै माइक छाडेका थिए । तर, सञ्चालक आचार्यले आफूले कुनै गल्ती नगरेको स्पष्ट पार्दै क्षमा याचना गरेका थिए । ‘नारायणकाजी कमरेड बोल्दा म अनायासै पोडियम अघिल्तिर पुगेछु’, आचार्यले भने,‘तर, मेरो नियत उहाँलाई चाँडो मन्तव्य सक्नु भन्ने थिएन ।’
श्रेष्ठले माइक छाडेपछि अध्यक्ष दाहालले परिस्थितिलाई सम्हाल्ने प्रयास गरे । श्रेष्ठप्रति लक्षित गर्दै भने, ‘वरिष्ठ उपाध्यक्ष सैद्धान्तिक विषय राख्न बल गर्दै हुनुहुन्थ्यो, तर उहाँले मन्तव्य नरोक्दा राम्रो हुन्थ्यो ।’ उनले यसलाई ठूलो विषय नभएको बताउँदै आत्मसमीक्षाको आवश्यकता रहेको बताएका थिए ।
यो घटनाले अध्यक्ष दाहाललाई असहज बनाएको देखिन्थ्यो । तर, दाहालले आफ्नो सम्बोधनको क्रममा भने उक्त विषयलाई सामान्यीकरण गर्ने प्रयास गरेका थिए । यस घटनाले खासगरी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीचको ‘मिसअन्डस्ट्यान्डिङ’ सतहमा आउँदा कार्यक्रम नै प्रभावित बन्न पुग्यो ।
नारायणकाजी रिसाएको भाइरल भिडियोले अहिले नकारात्मक कमेन्टहरु बटुलिरहँदा माओवादीको यो कार्यक्रम अर्को कारणले पनि आलोचित बनेको छ । त्यो हो, उसले सोमबारदेखि झापाको कचनकवलबाट सुरु गरेको भएको जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ का क्रममा सभा गर्न विद्यालय बन्द गर्न दबाब दिएको विषय ।
अभियानका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा रहेका विद्यालय मंगलबार हुने भनिएको जागरण सभामा ध्वनि प्रदुषण हुने भन्दै विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको हो । माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गा बहादुर कार्कीले कार्यक्रमस्थल वरिपरिका विद्यालयलाई पत्र नै पठाएर विद्यालय बन्द गर्न दबाब दिएका हुन् ।
उनले विद्यालयलाई लेखेको पत्रमा कानेपोखरी–६ रमाइलोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतको उपस्थितिमा वृहत जनसभा हुने उल्लेख छ ।उक्त जनसभाका कारण सवारी साधन अत्याधिक भई यातायातमा समस्या आउने, उच्च ध्वनि भएका ध्वनियन्त्र प्रयोग हुने उल्लेख छ ।
जसका कारण विद्यार्थीहरूलाई ध्वनि प्रदुषणको समस्या हुने भन्दै ‘एक दिन विद्यालय बिदा गरी कार्यक्रमलाई आवश्यक सहयोग गरिदिन हार्दिक अनुरोध गर्दैछौँ’ भन्दै दबाब दिइएको हो । माओवादी कानेपोखरीका अध्यक्ष कार्कीले रमाइलो बजारस्थित रमाइलो बालजगत इङ्ग्लिस बोर्डिङ स्कुल, पल एकेडेमी र माउन्ट हर्मोन एकेडेमीलाई पत्र पठाएर विद्यालय बन्द गर्न भनेको हो।
यसबीच झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान मोरङ आइपुगेको छ । बिहान पथरी बजार हुँदै कानेपोखरी बजार, रमाइलो बजारमा जनसभा दिउँसो सुनवर्सी नगरपालिका –९ कदमगाछीमा कार्यक्रम गर्ने भनिएको छ ।
दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गको आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाको कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । भोली बुधबार भने विराटनगर केन्द्रित भेटघाट कार्यक्रम छन् ।