२१ फागुन ,काठमाण्डौ।
‘मड्रिड डर्बी’मा रियल मड्रिडले पुनः एट्लेटिको मड्रिडलाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा २–१ को जित निकालेको छ । ब्राहिम डियाजको उत्कृष्ट गोल निर्णायक सावित भयो ।
रियलले एट्लेटिकोलाई यसअघि सन् २०१४ र २०१६ को च्याम्पियन्स लिग फाइनलमा पराजित गरेको थियो । एट्लेटिकोले ११ पटकको युरोपियन प्रतिस्पर्धामा आफ्ना सहरी प्रतिद्वन्द्वीविरुद्ध केवल तीन खेल मात्र जितेको छ ।
सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले पहिलो अवसरमै अग्रता लियो । खेलको १७औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । फेडे भाल्भेर्डेले उत्कृष्ट पास दिएका थिए, जसलाई रोड्रिगोले तीव्र गतिमा ड्रिबल गर्दै बक्सभित्र छिरेर कर्ल गर्दै नेटको कुनामा पठाए ।
एट्लेटिको धैर्यपूर्वक आफ्नो अवसरको पर्खाइमा थियो । ३२औं मिनेटमा जुलियन अल्भारेजले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले बायाँ किनाराबाट बल लिँदै बक्सभित्र प्रवेश गरे र थिबाउट कोर्टुवालाई छक्याउँदै बल नेटमा पठाए ।
तर, दोस्रो हाफको ५५औं मिनेटमा डियाजले निर्णायक क्षण सिर्जना गरे । उनले दुई जना एट्लेटिको खेलाडीलाई छलाउँदै बललाई फार पोस्टमा पु¥याए । योसँगै रियल २–१ ले विजयी भयो । रियल अब क्वार्टरफाइनलमा स्थान बनाउन दोस्रो लेगमा आफ्नो अग्रता जोगाउन प्रयास गर्नेछ ।
एट्लेटिको भने पुनरागमन गर्दै इतिहास उल्टाउन चाहन्छ । अर्कोतर्फ इंग्लिस क्लब आर्सनलले नेदरल्यान्ड्समा पिएसभी आइन्डहोभेनलाई मंगलवार ७–१ को लज्जास्पद हार चखाउँदै च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगअघि बलियो अग्रता बनाएको छ ।
आर्सनलले पहिलो हाफमा ३ गोल र बाँकी गोल दोस्रो हाफमा गर्यो । टोलीले प्रतियोगिताको क्वाटरफाइनलको सम्भावनालाई मजबुत बनाएको छ । जुरियन टिम्बरले १८औं मिनेटमा आर्सनलको लागि गोलको खाता खोले ।
यसको ३ मिनेटपछि इथान न्वानेरीले अग्रता दोब्बर बनाए । त्यसपछि मिकेल मेरिनोले पिएसभीको डिफेन्सको गल्तीमा आर्सनलको लागि तेस्रो गोल गरे । ३–० ले पछि परेको पिएसभीलरले पेनाल्टीको अवसर प्राप्त गर्यो ।
थोमस पार्टेले लुक डे जोङलाई फाउल गरेपछि नोआ लैङले गोल गरे । त्यो सँगै पहिलो हाफ ३–१ को नतिजामा सकियो । दोस्रो हाफ दोस्रो मिनेटमा कप्तान मार्टिन ओडेगार्डले र त्यसको एक मिनेट बित्न नपाउँदै लिआन्द्रो ट्रोसार्डले गोल गर्दा आर्सनलले ५–१ को अग्रता बनायो ।
७३ औं मिनेटमा ओडेगार्डले उत्कृष्ट गोलमार्फत व्यक्तिगत गोल संख्या २ पुर्याए । त्यसपछि खेल सकिन ५ मिनेट बाकी छँदा रिकार्डो कालाफियोरीले गोल गरे । यो हारमा पिएसभीको फितलो डिफेन्स प्रमुख कारण बन्यो ।
यो वर्षको सुरुदेखि नै डच टोलीले १४ खेलमध्ये केवल एक खेलमा मात्र क्लिनसिट राखेको छ । अर्को खेलमा एस्टन भिल्लाले क्लब ब्रुगलाई ३–१ ले हरायो । बोरुसिया डर्टमन्ड र लस्क लिलले १–१ को बराबरी खेलका छन् ।