५ बैशाख, विराटनगर । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ ।
एकसातापछि शान्तिसुरक्षाको स्थिति सामान्य रहेको भन्दै प्रशासनले निषेधाज्ञा हटाएपनि गत शनिबार हनुमान जयन्तीका अवसरमा आयोजित शोभायात्रामा सामाजिक सद्भाव विथोल्ने गरी गतिविधि गर्ने ब्यक्तिहरुलाई कारबाही नगरिएको भन्दै मुस्लिम आयोगले असन्तुष्टि जनाएको छ ।
मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले वीरगञ्जमा दुई समुदायबीच भड्किएको हिंसामा सम्बन्धित निकायले तदारुकता नदेखाएको भन्दै संलग्नमाथि कारबाही गर्न माग गरेका छन् ।
उनले सो घटनापछि सद्भाव विथोल्ने गरी गैरकानुनी अभिव्यक्ति दिने ब्यक्तिहरु अझै पनि कानुनी कारबाहीबाट बाहिरै रहेको भन्दै उनीहरु जुनकुनै समुदायको व्यक्ति भएपनि कानुनी दायरामा ल्याउनु पर्ने अन्सारीले बताएका छन् । उनले घटनाको सत्यतथ्य छानविन र दोषीमाथि कारबाही नहुनु प्रशासनको कमजोरी रहेको बताएका छन् ।
अन्सारीले म्यानमारको उदाहरण दिएर सार्वजनिक समारोहमा मुस्लिम समुदायमाथि चेतावनी दिँदा समेत प्रशासन मौन रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनले भनेका छन्, मैले पटक पटक दोहोर्याउदै आएको छु,घटना घटाउने ब्यक्ति जुनसुकै समुदायको भएपनि कानुनी दायरमा ल्याउनु पर्छ, घटनाको छानविन हुनुपर्छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले शुक्रबार बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको छ । “स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ,” जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पनि हनुमान जयन्तीका अवसरमा वीरगन्जमा भएको हिंसात्मक घटनालाई दुर्भाग्यपूर्ण भन्दै सामाजिक सद्भाव कायम गर्न सबैलाई संयमता अपनाउन आह्वान गरेका छन्।
मुख्यमन्त्री सिंहले वीरगन्जलाई मधेशको शक्ति र धार्मिक–सांस्कृतिक विविधताको प्रतीक बताउँदै यसमा चोट पु¥याउने कुनै पनि गतिविधि चिन्ताजनक र दुःखद् भएको उल्लेख गरेका छन्।
यसैबीच, खानेपानीमन्त्री प्रदीप यादवले पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक सम्पत्तिमा तोडफोड र उत्तेजक अभिव्यक्ति दिनेहरूमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्।
पर्सा प्रहरी प्रमुख गौतम मिश्रले हनुमान जयन्तीको शोभायात्राका क्रममा तोडफोडमा संलग्न दुवै समुदायका चार जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको जानकारी दिएका छन् ।
त्यस्तै, मंगलबार निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने दुई जनालाई पनि नियन्त्रणमा लिइएको छ। गत शनिबार हनुमान जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो ।