१४ असोज , काठमाण्डौ ।
नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा गएराती भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै यो शृङ्खलाको उपाधि जितेको हो ।
पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । यससंगै टोलीले आज अन्तिम खेल खेल्दै छ । अब नेपाली राष्ट्रिय क्रिकेट टोलीको लक्ष्य सिरिज क्लिन स्विप गर्नु हुनेछ ।
दुईपटकको टी–२० विश्वकप च्याम्पियन टोलीविरुद्ध ऐतिहासिक जित हासिल गरेको नेपाली टोली युनिटी कपको अन्तिम खेलमा उच्च मनोबलमा मैदान उत्रनेछ ।
खेल यूएईको सारजाह क्रिकेट रगंशालामा राति सवा ८ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा १९ रनको जित निकाल्दै पूर्ण टेस्ट टोलीविरुद्ध ऐतिहासिक प्राप्त गरेको थियो ।
गएराति दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८३ रनमा अलआउट गर्दा नेपालले ९० रनको फराकिलो जित दर्ता गरेको थियो । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भएको हो ।
वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रन बनाए ।
यस्तै, एकिम अगष्टले १७ तथा अमिर जांगोले १६ रन जोडे । नेपालको लागि आदिल आलमले ४ विकेट लिए । यस्तै, कुशल भुर्तेलले तीन, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७३ रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे ।
यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन बनाए । यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए। वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई दुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए ।
टेष्ट राष्ट्र विरूद्ध नेपालले पहिलो पटक सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको हो । यो खेल र जित नेपाली क्रिकेटको लागि विशेष बनेको छ ।
साथै अल राउन्डर आदिल आलमको लागि भने सानदार पुनरागमन खेल बन्यो । प्रतिबन्ध फुकुवा भएपछि आदिल पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल रहे ।
अनि आजको खेलमा प्रशिक्षक स्टुवार्ट लले घाइते नन्दन यादवको स्थानमा आदिललाई मौका दिए । ३ वर्षपछि राष्ट्रिय टिमको लागि खेल्न पाएको मौकालाई अवसरमा बदल्न आदिल सफल रहे ।
१९ ओभर १ बलमा गुलशन झा आउट भएपछि ५ बल बाँकी छदा आदिल क्रिजमा छिरे । ३ वर्षपछि पहिलो पटक राष्ट्रिय टोलीको लागि आदिल मैदान प्रवेश गरे ।
आत्मविश्वासी आदिलले ५ बल खेल्दै १ छक्का र १ चौका सहित ११ रन जोडे । त्यसपछि बलिङमा उनको जादु चल्यो । ४ ओभरमा मात्र २४ रन खर्चेर ४ विकेट लिए ।
यो तथ्याङ्कले पनि उनको कमब्याक सानदार रहेको पुष्टि गर्छ । आजको खेलमा उनले सर्वाधिक विकेट लिए । आदिलले आठौँ, दसौँ, बाहौँ र १६औँ ओभरमा बलिङमा आए । उनले आफ्नो हरेक ओभरमा विकेट लिन सफल भए ।
२०७९ सालको मंसिरमा टियु मैदनामा भएको नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा आदि माथि स्पट फिक्सिङको आरोप लागेको थियो । सो आरोपले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लागेको थियो ।
काठमाडौं जिल्ला अदालतले २०८० को चैतमा उनलाई सफाई दिएको थियो । यसपछि क्यानको इन्टेग्रिटी कमिटीले प्रतिबन्ध फुकुवा गर्ने सिफारिस गर्यो ।
२०८२ वैशाख २१ गते देखि लागु हुने गरी क्यानले उनको प्रतिबन्ध फुकुवा गरेको थियो । प्रतिबन्ध फुकुवापछि नेपाल ‘ए’ टिम हुँदै उनले राष्ट्रिय टोलीमा पुनरागमन गरेका यात्रा हुन् ।
अब आज नेपाल सिरिज क्लिन स्विपको पक्षमा हुँदा वेस्ट इन्डिजको टोली भने पहिलो जितको खोजीमा हुनेछ । वेष्ट इण्डिजसँगको सिरिजपछि नेपाली टोली उतैबाट ओमान जाने कार्यक्रम छ ।
ओमानमा अर्को सातादेखि आईसीसी टी–२० एसिया कप क्षत्रिय छनोट हुँदैछ । नेपाली टोलीले यो सिरिजलाई त्यसकै तयारीका रुपमा लिएको छ ।