बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

२८ जेठ ८३, शुक्रबार

२९ जेठ , काठमाण्डौ।

देशका धेरै स्थानमा आज वर्षा हुने संभावना छ भने कतिपय स्थानमा भने विहानैदेखि वर्षा भइरहेको छ । काठमाडौंसहित वाग्मती प्रदेशका धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, चितवनलगायत जिल्लामा वर्षा भइरहेको छ । उर्ता वर्षापछिको बाढी आएको खोलाले कैलालीमा २ जनालाई बगाएको छ ।

सुदूरपश्चिमका धेरै स्थानमा र कर्णालीका केही भूभागमा पानी परिरहेको छ । गण्डकी प्रदेशका पूर्वी भूभागमा वर्षा भइरहेको छ । कोसीका एकाध स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलवायुविज्ञ धर्मराज उप्रेती आज देशका धेरै स्थानमा वर्षा हुने बताउँछन् ।

Advertisement

“आज पश्चिमी वायु पूर्वतिर सर्दै छ । मनसुनी वायु नेपाल प्रवेश गर्दै गरेकाले देशको पश्चिमदेखि मध्य र पूर्वी भागमा वर्षा, हावाहुरीसमेतको सम्भावना छ,” उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् । मौसमविद् विनोद पोखरेलले भारी वर्षा हुने क्रम जारी रहेको बताएका छन् ।

फेसबुकमा उनी लेख्छन्, “आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।” भोलिदेखि तराईमा एक हप्तासम्म वर्षाको सम्भावना घट्दै जाने उनको भनाइ छ । “पहाडी र हिमाली भेगमा हल्का वर्षा हुने देखिन्छ,” उनी भन्छन् । धेरै स्थानमा वर्षा भइरहे पनि मनसुन भने प्रवेश गरिनसकेको जल तथा मौसम विज्ञान विभागका मौसविद् सञ्जिव अधिकारी बताउँछन् ।

Advertisement

“मनसुन नेपालमा प्रवेश गरिसकेको छैन । हामीले तोकेका केही मापदण्ड पूरा हुन अझै बाँकी छ,” उनले भनेका छन् । सबै मापदण्ड पूरा भएपछि मनसुन नेपाल प्रवेश गरेको घोषणा गरिने उनले बताए । भोलि÷पर्सितिर विभागले मनसुनबारे घोषणा गर्ने संभावना छ ।

यस्तै मौसम महाशाखाका मौसमविद् विभूति पोखरेलले पूर्वी अर्थात् मनसुनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसुन भित्रिएको घोषणा गर्न मिल्ने बताएकी छन्। ‘आजभोलि नै मनसुन प्रवेशको घोषणा गर्न सकिएन भने यसपटक मनसुन औसत मितिभन्दा ढिला हुन सक्छ’, मौसमविद् पोखरेलले भनिन्।

मौसम महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वी वायुको समेत आंशिक प्रभाव छ।काठमाडौँ उपत्यकामा गएरातिदेखि नै मौसम बदली र वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पनि काठमाडौँ उपत्यकाका कतै कतै पानी पर्ने क्रम जारी छ।

मौसमविद् पोखरेलका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ। विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी र मधेस प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । विभागले राति कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ ।

मधेस प्रदेशलगायत तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा÷हिमपातको पूर्वानुमान छ । मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भूभाग साथै देशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा÷हिमपातको सम्भावना छ ।

नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ अथवा भोलि हो । तर, यो भन्दा अगाडि अथवा पछाडि पनि मनसुन प्रवेश गर्ने सम्भावना हुन्छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायुको प्रभाव रहेको छ । उता कैलालीमा नदीमा आएको बाढीले बगाएर दुई महिलाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका– ३ स्थित गोदावरी नदीमा बाढीले बगाएका दुई महिलाको मृत्यु भएको हो । शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका– ४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई बगाएको थियो । गोदावरी आर्यघाटनजिक दुैवै महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शिव मन्दिरका पुजारीले जंगलमा च्याउ टिप्न घरबाट निस्किएका दुवै महिलालाई बाढीले बगाएको जानकारी प्रहरीलाई गराएका थिए । स्थानीयवासी र सुरक्षाकर्मीले खोजतलासका क्रममा दुवै महिलाको शव फेला पारेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top