२७ फागुन, काठमाण्डौ।
चार दिनमै सिध्याउने भन्दै इरानविरुद्ध युद्ध सुरु गरेको अमेरिका र इजरायलले दुई साता हुन लाग्दासमेत यो युद्ध कहिले, कुनरुपमा सकिन्छ भन्ने सटिक अनुमानसम्म लगाउन सकिरहेका छैनन् । बरु इरानले क्षतविक्षत भइसक्दा पनि सप्राइज दिने गरि जवाफी कारबाही गरिरहेको छ । तर अब अमेरिकाले ठूलो हमला गर्ने चेतावनी दिइसकेको छ ।
एकातिर डोनाल्ड ट्रम्पले युद्ध छिटै अन्त्य हुने बताइरहेका छन् भने अर्कातिर भीषण हमलामा अमेरिका र इजरायल उत्रिएको छ । यो हेर्दा इरानलाई गाजाको जस्तै अवस्थामा पुर्याएर युद्ध रोक्ने ट्रम्पको संकेत हुनसक्छ । यसैपनि अमेरिकाले इरानमा फेब्रुअरी २८ मा पहिलो मिसाइल प्रहार गर्नुअघि नै चिनियाँ सामाजिक सञ्जालहरूमा अमेरिकाले ठूलो हमलाको तयारी गरिरहेको संकेतहरू देखिन थालेका थिए ।
इन्टरनेटमा अमेरिकी सैन्य तयारीसँग सम्बन्धित स्याटेलाइट तस्बिरहरू तीव्र रूपमा फैलिन थालेका थिए । यी तस्बिरहरूमा रनवेमा रहेका लडाकु विमानहरू, मरुभूमिस्थित एयरफिल्डमा ओर्लिंदै गरेका ट्रान्सपोर्ट विमानहरू र भूमध्यसागरमा कुनै युद्धपोतको डेकमा तैनाथ फाइटर जेटहरू देखिएका थिए ।
यी तस्बिरहरूको खास विशेषता यसमा असामान्य रूपमा धेरै विस्तृत जानकारीहरू दिइएका थिए, र ती जानकारी अंग्रेजीमा नभई चिनियाँ भाषामा लेखिएका थिए । तस्बिरहरूमा फरक–फरक विमानहरूको नाम बताइएको थियो । मिसाइल रक्षा प्रणालीलाई स्पष्ट रूपमा उल्लेख गरिएको थियो सैनिकहरूको तैनाथीलाई सटिक लोकेसनका साथ देखाइएको थियो ।
यी स्याटेलाइट तस्बिरहरूलाई एक चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले अनलाइनमा सार्वजनिक गरेको थियो । एउटा तस्बिरमा इजरायलको ‘ओभदा एयर बेस’मा लकहिड मार्टिनका एफ–२२ स्टेल्थ फाइटरहरू रहेको देखिएका थिए । अर्को तस्बिरमा साउदी अरबको ‘प्रिन्स सुल्तान एयर बेस’मा विमान र सपोर्ट सिस्टमको बढ्दो तैनाथी देखाइएको थियो ।
यसबाहेक कतार, जोर्डन र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई पनि नक्सामा देखिएको थियो । यी सबै तस्बिरहरू सांघाईस्थित जियोस्पेसियल इन्टेलिजेन्स कम्पनी ‘मिजार भिजन’ले सार्वजनिक गरेको थियो । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले मिलेर ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गत इरानमा हवाई हमला सुरु गरे ।
यसको जवाफमा तेहरानले मिसाइल र ड्रोन हमला ग¥यो । तर, यस युद्धका बीच अर्को एउटा विषय समानान्तर रूपमा चलिरहेको थियो । इन्टरनेटमा लगातार स्याटेलाइट तस्बिरहरू सार्वजनिक भइरहेका थिए, जसमा अमेरिकी विमान, मिसाइल रक्षा प्रणाली र नौसैनिक गतिविधिहरू देखाइएको थियो । यी सबै तस्बिरहरू ‘मिजार भिजन’ले सार्वजनिक गरिरहेको थियो ।
पहिलो ठूलो तस्बिरहरूको सेट फेब्रुअरी २० को आसपास सार्वजनिक भएको थियो । ‘मिजार भिजन’ले हाई–रेजोल्युसन स्याटेलाइट तस्बिरहरूको एक संग्रह जारी ग¥यो, जसमा दक्षिणी इजरायलको ओभदा एयर बेसमा अमेरिकी विमानहरूको तैनाथी, साउदी अरब र कतारलगायत मध्यपूर्वका धेरै देशहरूमा फाइटर जेटको उपस्थिति, अरब सागरमा नौसैनिक गतिविधि र विमानवाहक पोतहरूको आवागमन देखाइएको थियो ।
यी सबै तस्बिरहरूमा आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले विभिन्न जानकारीहरू पनि थपिएको थियो । विमानका प्रकारहरू बताइएको थियो, सहयोगी विमानहरूको पहिचान गरिएको थियो । र, मिसाइल रक्षा प्रणालीलाई पनि देखाइएको थियो । मार्च १ सम्म यो डेटा अझ बढेको थियो । ‘मिजार भिजन’ले जोर्डन, कुवेत, बहराइन र संयुक्त अरब इमिरेट्सका सैन्य अखडाहरूको पनि नयाँ स्याटेलाइट तस्बिर जारी ग¥यो ।
यी तस्बिरहरूमा विभिन्न प्रकारका विमान, एयर डिफेन्स सिस्टमको व्यवस्था र सैनिकहरूको तैनाथी देखाइएको थियो । यी स्याटेलाइट तस्बिरहरूलाई सटिक लोकेसनका साथ सामाजिक सञ्जाल एक्स र चिनियाँ प्लेटफर्म ‘विबो’मा पोस्ट गरिएको थियो । यीमध्ये धेरै पोस्टहरू चिनियाँ सरकारी सञ्चारमाध्यमसँग सम्बन्धित एकाउन्ट र पिपुल्स लिबरेसन आर्मीसँग सम्बन्धित विश्लेषकहरूले पनि साझा गरेका थिए ।
यी तस्बिरहरूमा अमेरिकाका धेरै महत्वपूर्ण सैन्य प्लेटफर्महरू देखिएका थिए । युद्ध सुरु हुन लागेको समयमा स्याटेलाइट तस्बिरहरूमा इजरायलको ओभदा एयर बेसमा एफ–२२ स्टेल्थ फाइटरहरू देखिएका थिए । तस्बिरहरूका अनुसार सातवटा एफ–२२ विमान रनवेनजिकै खडा थिए र अन्य चारवटा एफ–२२ रनवेमा देखिएका थिए ।
यसको करिब २४ घण्टापछि ‘अपरेसन एपिक फ्युरी’ सुरु भयो । अन्य तस्बिरहरूमा साउदी अरबको प्रिन्स सुल्तान एयर बेसमा सैन्य गतिविधिहरू पनि देखाइयो । यहाँ सातवटा बोइङ ई–३ एयरबोर्न वार्निङ एन्ड कन्ट्रोल सिस्टम विमान र दुईवटा बम्बार्डियर ई–११ कम्युनिकेसन विमान तैनाथ रहेको बताइएको थियो ।
यसबाहेक कतारको अल–उदिद एयर बेसको पनि स्याटेलाइट तस्बिर सार्वजनिक भयो । पछि यही एयर बेस इरानको मिसाइल र ड्रोन हमलाको निशाना बन्यो । यद्यपि, यी तस्बिरहरू एयरफिल्डमा मात्र सीमित थिएनन् । ‘मिजार भिजन’ले यस्ता स्याटेलाइट तस्बिरहरू पनि जारी ग¥यो, जसमा समुद्रमा अमेरिकी नौसेनाका गतिविधिहरू देखिएका थिए ।
यी तस्बिरहरूमा अमेरिकी नौसेनाको सबैभन्दा नयाँ विमानवाहक पोत ‘यूएसएस जेराल्ड आर फोर्ड’ पनि देखियो । यो पोत ग्रीसको क्रेट टापुमा रहेको सुडा बे नौसैनिक अखडाबाट प्रस्थान गरेपछि देखिएको थियो । तस्बिरहरूमा विमानवाहक पोतको डेकमा बोइङ सुपर हर्नेट फाइटर जेट र नर्थरोप ग्रुम्यान अर्ली वार्निङ विमानहरू पनि देखिएका थिए ।
अर्को एक स्याटेलाइट तस्बिरमा ‘यूएसएस अब्राहम लिंकन’ युद्धपोत अरब सागरमा ओमाननजिकै एक सप्लाई जहाजसँग रहेको देखिएको थियो । कम्पनीले यी स्याटेलाइट तस्बिरहरूलाई ओपन–सोर्स फ्लाइट ट्रयाकिङ डेटासँग पनि जोडेको थियो । अमेरिकाको यो शक्तिशाली तयारीका बीच पनि चार दिनमा सिध्याउने भनेको युद्ध आज ११ औं दिनमा पुगेको छ ।
पछिल्लो आक्रमणमा अमेरिकाले होर्मुज स्ट्रेट (जलडमरू क्षेत्र)मा माइन बिछ्याउने इरानका १६ वटा डुंगामाथि आक्रमण गरेर पूर्ण रूपमा नष्ट गरेको जनाएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले सामाजिक सन्जाल एक्समार्फत् आक्रमणको भिडियो सार्वजनिक गरी यो जानकारी दिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्ता आक्रमण आगामी दिनमा पनि जारी रहने बताएका छन् ।
यता इरानका विदेशमन्त्री सईद अब्बास अराघ्चीले ईरान पश्चिम एशियामा रहेका अमेरिकी र इजरायली सैन्य ठिकानामाथि मिसाइल आक्रमण आवश्यकतानुसार निरन्तर जारी राख्न पूर्ण रूपमा तयार रहेको बताएका छन् । अमेरिकी–इजरायली पक्षले ईरानका मिसाइल प्रतिष्ठानमाथि गरेको आक्रमणले ईरानको प्रतिकार रोक्न असफल भएको अराघ्चीले बताए ।
अराघ्चीले टिप्पणी गरे कि संयुक्त राज्य अमेरिका र इजरायलसँग कुनै ‘व्यावहारिक अन्त्य योजना’ छैन र उनीहरूले अन्धाधुन्ध हमला गर्दै आवासीय क्षेत्र, अस्पताल, विद्यालय र पूर्वाधारलाई लक्षित गरिरहेको उल्लेख गर्दै यसलाई निकै खतरनाक कदमको रूपमा मूल्याङ्कन गरे ।
नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनीको चयनले ईरानको अमेरिकी–इजरायल विरोधी नीतिको निरन्तरता र देशको स्थिरता देखाएको अराघ्चीले बताए । उनले अमेरिकी पक्षसँग पुनः वार्ता गर्ने विकल्प अब ईरानको एजेन्डामा नरहेको र विगतका कडुवा अनुभवका कारण वार्ता पुनः सुरु गर्न नचाहेको पनि बताए ।
अराघ्चीले विश्व ऊर्जा मूल्य वृद्धिलाई अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तेल उत्पादन र ढुवानीमा आएको अवरोधसँग जोडेर व्याख्या गरे , तर उनले ईरानले होर्मुज जलडमरूमध्य बन्द गरेको छैन र जहाजहरूले सामान्य रूपमा नेभिगेशन गर्न सक्ने अवस्था कायम रहेको स्पष्ट पारे ।
फेब्रुअरी २८ मा, इजरायल र अमेरिकाले तेहरान र अन्य ईरानी शहरहरूमा संयुक्त आक्रमण गरेर ईरानका सर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ सैन्य कमाण्डर र नागरिकहरूलाई मार्दा ईरानले आफ्नो मिसाइल र ड्रोन प्रणालीमार्फत तुरुन्तै प्रतिकार गरेको थियो । यस द्वन्द्वले मध्यपूर्वमा सुरक्षा संकट उत्पन्न गरेको छ र होर्मुज जलडमरूमध्यमा ढुवानी जोखिमका कारण विश्व तेल आपूर्ति र ऊर्जा बजारमा ठूलो असर परेको छ ।
अराघ्चीका यी टिप्पणीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता भनेका ‘संयुक्त अमेरिकी–इजरायली आक्रमण चाँडै अन्त्य हुने’ दाबीबीच आएका हुन्, जसले द्वन्द्वको तातो स्थिति अझ स्पष्ट बनाएको छ । यसैबीच युद्धका क्रममा करिब १४० अमेरिकी सैनिक घाइते भएको अमेरिकाको रक्षा मन्त्रालय ‘पेन्टागन’ले दिएको छ ।
पेन्टागनका प्रवक्ता सीन पार्नेलले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा घाइते सैनिकमध्ये अधिकांशलाई सामान्य चोट लागेको र १०८ सैनिक उपचारपछि पुनः काममा फर्किसकेको बताएका छन् । यद्यपि, उनले आठ अमेरिकी सैनिक गम्भीर रूपमा घाइते भएको र उनीहरूको उपचार भइरहेको जानकारी दिएका छन् ।
इरानसँग सुरु भएको ११ दिनको युद्धपछि अमेरिकी सैनिकहरूलाई भएको क्षतिबारे यो पहिलो विस्तृत जानकारी सार्वजनिक भएको हो । जानकारी अनुसार इरानको तर्फबाट जवाफी कारबाहीका रूपमा रकेट र ड्रोनबाट आक्रमणहरू गरिएका थिए । यी आक्रमणहरूमा कुवेत र साउदी अरबमा तैनाथ सात अमेरिकी सैनिकको मृत्यु समेत भइसकेको छ ।