१६ चैत , काठमाण्डौ ।
दुई तिहाइ नजिकको बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीको दलको नेताका रुपमा शक्तिशाली प्रधानमन्त्री बने यता बालेन्द्र शाह बालेनलाई बधाइ आउने क्रम अझै जारी छ । पछिल्लो समय भारतमा निर्वासित तिब्बती धर्म गुरु दलाई लामा समर्थित तिब्बती निर्वासित सरकार प्रमुखले बालेनलाई बधाइ दिएलगत्तै पाकिस्तानमा छुट्टै बलुचिस्तान देशको माग गर्दै शसस्त्र अभियान संचालन गरिरहेको पृथकतावादी समूह बालोचिस्तान गणतन्त्रका नेता मिर यार बालोचले पनि प्रधानमन्त्री बालेनलाई बधाइ तथा शुभकामना दिएका छन् ।
मिर यार बालोचको शुभकामना सन्देशमा शाहको नेतृत्वलाई नेपालको लागि ‘आशाजनक अध्याय’ का रूपमा चित्रण गरिएको छ । ‘बलोच समुदाय नेपाल’ का तर्फबाट बालोचिस्तान गणतन्त्र नेपालका नयाँ मन्त्रिपरिषद् तथा सम्मानित प्रधानमन्त्रीको पद ग्रहण गर्नुभएका बालेन्द्र शाहलाई हार्दिक बधाई व्यक्त गर्दछ,’ सन्देशमा भनिएको छ, ‘तपाईंको नेतृत्वले तपाईंको राष्ट्रका लागि एक आशाजनक अध्यायको सुरुवात गरेको छ र हामी विश्वस्त छौँ कि तपाईंको दृष्टिकोण, ऊर्जा र समर्पणले नेपाललाई अझ बढी प्रगति र समृद्धितर्फ मार्गदर्शन गर्नेछ ।’
आपसी सम्मान, सहकार्य तथा शान्ति र विकासका साझा आकांक्षामा आधारित ‘दुई राष्ट्र’ बीच मैत्रीपूर्ण सम्बन्ध प्रगाढ बनाउने र सुदृढ कूटनीतिक सम्बन्ध स्थापना गर्ने अपेक्षा उनले व्यक्त गरेका छन् । ‘यो नयाँ यात्राले तपाईंको नेतृत्वलाई सफलता प्रदान गरोस् र हाम्रा जनताबीचको सम्बन्ध अझ मजबुत बनाओस्,’ उनको ट्विटमा भनिएको छ ।
बलोचिस्तान एउटा ठूलो ऐतिहासिक क्षेत्र हो जुन दक्षिण–पश्चिम एशियामा पर्छ । यो क्षेत्र मुख्य रूपमा सुक्खा, पहाडी र मरुभूमि जस्तो छ, जसमा ठूला–ठूला पहाडहरू, मैदान र अरब सागरको तट पनि समावेश छ । यो क्षेत्रको नाम बलोच जाति, जो यो क्षेत्रका मूल बासिन्दा हुन्, बाट आएको हो ।
भौगोलिक रूपमा यो क्षेत्र तीन देशमा विभाजित छ । पाकिस्तानको बलोचिस्तान प्रान्तः सबैभन्दा ठूलो भाग यहाँ छ । यो पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । क्षेत्रफलको हिसाबले करिब ४४५०, तर जनसंख्याको हिसाबले सबैभन्दा कम घनत्व भएको । यसको राजधानी क्वेटा हो । यो अफगानिस्तान, इरान, पन्जाब, सिन्ध र खैबर पख्तुनख्वासँग जोडिएको छ ।
सिस्तान र बलुचिस्तान प्रान्त र आसपासका केही क्षेत्र । अफगानिस्तानको दक्षिणी भागः केही जिल्लाहरू जस्तै निमरोज, हेलमन्द आदि । बलोच जातिका मानिसहरू मुख्य रूपमा सुन्नी मुस्लिम हुन् र उनीहरूको भाषा बलोची (इरानी भाषा परिवारको) हो। यो क्षेत्र प्राकृतिक स्रोत (ग्यास, खनिज, सुन, तामा आदि)ले धनी छ तर विकास कम भएको छ ।
प्राचीन समयमा यो क्षेत्र अलेक्जेन्डर द ग्रेटको सेनाले पार गरेको थियो, पछि विभिन्न साम्राज्य (फारसी, मुगल आदि)को प्रभावमा पर्यो । १९औँ शताब्दीमा ब्रिटिसले यो क्षेत्र नियन्त्रण गरे । १९४७ मा पाकिस्तान बनेपछि कलात राज्य (बलोचिस्तानको मुख्य भाग)लाई पाकिस्तानमा गाभियो, जसलाई धेरै बलोच राष्ट्रवादीहरूले अवैध कब्जा ठान्छन् ।
त्यसपछि यहाँ स्वतन्त्रता आन्दोलन चलिरहेको छ, जसमा पाकिस्तानी सेनासँग द्वन्द्व पनि भइरहेको छ । मिर यार बालोच एक बलोच राष्ट्रवादी नेता, लेखक, मानवाधिकार कार्यकर्ता र पत्रकार हुन् । उनी आजाद बलोचिस्तान मुभमेन्टको प्रमुख आवाज र प्रतिनिधि मानिन्छन् । उनी बलोचिस्तानलाई पाकिस्तानबाट अलग स्वतन्त्र राष्ट्र बनाउनुपर्छ भन्ने पक्षमा सक्रिय छन् ।
२०२५ मा उनले सोशल मार्फत बलोचिस्तानलाई पाकिस्तानबाट स्वतन्त्र घोषणा गरेका थिए । उनले संयुक्त राष्ट्रसंघलाई शान्ति सेना पठाउन, पाकिस्तानी सेना हटाउन र भारतलाई बलोच दूतावास खोल्न आग्रह गरेका थिए । मीर यारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेख्दै पाकिस्तान स्वसासित पिओके खाली गर्ने भारतको अडानको समर्थन गरेका थिए ।
उनले भारतबाट खुला समर्थन, दिल्लीमा बालोच दूतावास र आर्थिक सहयोग मागेका छन्। “हामीले भारतको साथ दिएका छौँ, अब भारतले हाम्रो साथ दिनुपर्छ“ भन्दै उनले अपिल गरेका थिए । उनी पाकिस्तान सरकार र सेनामाथि मानवअधिकार उल्लङ्घन, दमन, बमबारी र नरसंहार जस्ता आरोप लगाउँछन् ।
साथै, चीन, पाकिस्तान आर्थिक करिडोरलाई बलोचिस्तानमा खतरा ठान्छन् र चीनले सैनिक तैनाथ गर्न सक्ने चेतावनी दिन्छन् । उनी भारतसँग सम्बन्ध राख्न र बलोचिस्तानको स्वतन्त्रतामा समर्थन खोज्न सक्रिय छन् । केहीले उनलाई बलोच स्वतन्त्रता आन्दोलनको अम्बेडकर वा शेख मुजिबू जस्तो व्यक्तित्व भन्छन् ।
मिर यार बालोच मुख्य रूपमा शान्तिपूर्ण कूटनीतिक र अन्तर्राष्ट्रियस्तरबाट आवाज उठाउने कार्यकर्ता हुन् । तर उनी बलोच लिबरेशन आर्मीजस्ता सशस्त्र समूहसँग पनि जोडिएर चर्चामा आउँछन् । उनी बलोच युवाहरूमाझ लोकप्रिय छन् । उनले यसअघि भारतलाई औपचारिक पत्र लेखेरै बलुचिस्तानलाई छुट्टे देशको मान्यता दिन माग गर्दै छुट्टै दूतावासको माग गरेका थिए ।
पाकिस्तानले भारतले नै उनीहरुलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ। नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहलाई बधाई दिँदै मीर यारले कुटनीतिक सम्बन्ध विस्तार र सहकार्यको अपेक्षा व्यक्त गरेपछि यो अभियानले पाकिस्तानलाई असहज बनाउने छ। पकिस्तानी प्रधानमन्त्री र राष्ट्रपतिले यसअघि नै बालेनलाई बधाइ दिइसकेका छन् ।
यसअघि दलाई लामाका तिब्बति निर्वासित सरकारका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले बालेनलाई बधाई तथा शुभकामना दिएका थिए । केन्द्रीय तिब्बती प्रशासन र तिब्बती जनताको तर्फबाट उनले बधाई सन्देश पठाएका हुन् । आफ्नो बधाई सन्देशमा सिक्योङले लेखेका छन्, ‘हालै सम्पन्न जेन–जेड नेतृत्वको आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा तपाईंको उदय हुनु नेपालका जनताको, विशेषगरी युवापुस्ताको आकांक्षाको शक्तिशाली प्रतीकका रूपमा उभिएको छ ।’
पत्रमा अगाडि भनिएको छ, ‘नेपाल र तिब्बतबीच पुस्तौँदेखि कायम रहेका गहिरा ऐतिहासिक र आध्यात्मिक सम्बन्ध छन् । तिब्बतको जबरजस्ती अधिग्रहणपछि शरण लिएर नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्नो तिब्बती पहिचान जोगाउँदै नेपालको सामाजिक तथा आर्थिक संरचनामा लामो समयदेखि योगदान पु¥याउँदै आएका छन्, जसले यी सम्बन्धहरूलाई अझ मजबुत बनाएको छ । यो सबै नेपाल सरकार र नेपाली जनताको उदारताका कारण सम्भव भएको हो, जसका लागि हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौँ ।’
उनले अन्त्यमा भनेका छन्, ‘कृपया मेरो हार्दिक बधाई तथा शुभकामना स्वीकार गर्नुहोस् । नेपालको इतिहासको यस महत्वपूर्ण घडीमा तपाईंको नेतृत्वमा सफलता हासिल होस् भन्ने कामना गर्दछु । तपाईंको सक्षम नेतृत्वमा हाम्रो जनताबीचको मित्रता अझ सुदृढ हुँदै जानेछ भन्ने अपेक्षा राख्दै नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढोस् भन्ने आशा व्यक्त गर्दछौँ ।’
सिक्योङ पेन्पा छेरिङ चीनमा प्रतिवन्धित भएर हाल भारतको धर्मशालामा छन् । सिक्यौङको अर्थ सरकारप्रमुख सरह हुन्छ । उनी लामो समय तिब्बती सांसद थिए र सभामुखको जिम्मेवारीमा रहेर पनि काम गरेका थिए । निर्वाचित तिब्बति सरकारले नेपालको नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाइ दिएको सम्भवतः पहिलोपटक हो ।
यसअघि दलाइ लामाले अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ सन्देश पठाएका थिए । बलुच नेता र निर्वासित तिब्बती धर्मगुरुको स्वघोषित सरकार प्रमुखका तर्फबाट नेपालका प्रधानमन्त्रीलाई पहिलो पटक आएको बधाइ सन्देशलाई चासोका साथ हेरिएको छ।

