१४ साउन , काठमाण्डौ ।
गत आइतबार रातिदेखि तनावग्रस्त सुनसरी अहिले क्रमिकरुपमा शान्त बन्दै गएको छ । अहिले विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ । मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि बुधबारदेखि अवस्था केही सामान्य बन्न थालेको छ ।
यद्यपि स्थानीय प्रशासनले कफ्र्यू आदेश कायमै राखेको छ । यसबीच तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न ५ बुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

उनीहरुले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुलदङ्गाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवाञ्छित गतिविधि रोक्न सबै पक्षले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
आक्रोश र प्रतिशोधको भावनाभन्दा संयम, विवेक र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै सबैलाई संयमित रहन आग्रह गरिएको छ । सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नफैलाउन, आधिकारिक सूचना मात्र विश्वास गर्न र अफवाहको पछि नलाग्न पनि अनुरोध गरिएको छ ।
यस्तै प्रमुख राजनीतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछिको परिस्थितिलाई शान्तिपूर्ण संवादबाट समाधान गर्न अपिल गरेका छन् । कोशी प्रदेश सरकारले घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेहरूका लागि राहत प्रदान गर्ने निर्णय गरेको छ ।
यसबीच देवानगञ्जको कप्तानगञ्जमा भएको झडपमा घाइते भइ अस्पताल भर्ना हुनेको संख्या २१ पुगेको छ । आइतबार राति दुई समुदायबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको थियो भने ९ जना प्रदर्शनकारी घाइते भएका थिए ।
सोमबार र मंगलबार पनि दुवै पक्षबाट प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका थिए । सोमबार ३ जनालाई उपचारका लागि भर्ना गरिएको थियो । मंगलबार प्रहरीले ५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरेको थियो । अन्य घाइते आफै उपचारका लागि अस्पताल पुगेका थिए ।
घाइते भएका २१ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जना उपचारपछि घर फर्किएका छन् । न्यूरो अस्पतालमा ९, विराट नर्सिङ होममा ४, नोबेलमा २, विराट मेडिकलमा २, गोल्डेनमा २ र अन्य अस्पतालमा ३ जनाको उपचार भइरहेको छ ।
सबै घाइतेको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । झडपमा परी ज्यान गुमाएका देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको शव भने विगत तीन दिनदेखि न्यूरो अस्पतालमै छ । यसबीच प्रदेश सरकारले राहतसहित शान्ति र सद्भावका लागि अपिल गरिरहँदा सुनसरीमा प्रधानमन्त्री र गृहमन्त्रीको पनि व्यापक खोजी भएको छ।
प्रधानमन्त्रीले सामाजिक संजालमा स्टाटस लेख्नेबाहेक अन्य कतै चासो नदेखाएको भन्दै विरोधसमेत भइरहेको छ । यता गृहमन्त्री पनि यसअघि मोरंग–सुनसरीसहित जिल्ला जिल्लामा दौडिरहँदा देवानगञ्जमा भएको यत्रो घटनामा भने मौन रहेको भन्दै आलोचना बढीरहेको छ ।
हिजो सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले यसैका लागि सर्वदलिय बैठक आह्वान गर्दा सो बैठकमा समेत प्रधानमन्त्री र गृहमन्त्री सहभागी भएनन् । त्यहाँ प्रश्न उठेपछि रवि र अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री र गृहमन्त्रीको बचाउ गरेका थिए ।
उनीहरुले बालेन र सुधनले काम गरिरहेको प्रष्टीकरण दिएका थिए । यता प्रधानमन्त्री बालेन सर्वदलिय बैठकमा उपस्थित नभएपनि उनले बुधबार अपरान्ह नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रमुख नारायणदत्त पौडेलसँग सुनसरी घटनाबारे छुट्टाछुट्टै ब्रिफिङ लिएका छन्।
गृहमन्त्री सुधन गुरुङलाई साथमै राखेर प्रधानमन्त्री शाहले उनीहरूसँग सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे ब्रिफिङ लिएका थिए । सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पु¥याउन खोज्नेमाथि कडा निगरानी राख्न प्रधानमन्त्री शाहको निर्देशन थियो ।
प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन पनि दिएको उनको सचिवालयले जनाएको छ ।
यस्तै गृह मन्त्रालयले सोमबार सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । बुधबार गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उक्त समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रूपमा नियुक्त गरिएको छ ।
समिति संयोजक थापाका अनुसार साउन ११ मा समितिले विराटनगरमा उपचारत घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिएको थियो । यस्तै गृहमन्त्री गुरुङका स्वकीय सचिव जेम्स कार्की मंगलबार नै सुनसरीको देवानगन्ज गाउँपालिका– ३ कप्तानगन्ज पुगेको खुलेको छ ।
ड्रोनमार्फत घटनास्थलको निगरानी गर्ने रणनीति बनाएर उनी सुनसरी आएका हुन् । तर छानबिन समितिका संयोजक थापाले भने जेम्स कार्कीको टोली आफूहरूको समन्वयमा नरहेको बताएका छन् ।
तर, प्रधानमन्त्री शाहले गृह मन्त्रालयमा आईटी हेर्ने गरी खटाएका अनुप मगर र सुयसा शाहसँगको समन्वयमा कार्कीले ड्रोनबाट घटनास्थलको निगरानी गरिरहेको ती अधिकारीले बताएका छन । गृह मन्त्रालयका प्रवक्ताको कार्यकक्ष छेउमै आईटी हेर्ने गरी खटिएका मगर र शाहको कार्यकक्ष छ।
उनीहरूले गृह मन्त्रालयमा भएका गतिविधिको सिधै प्रधानमन्त्रीको सचिवालयमा रिपोर्ट गर्ने गरेका छन् । उनीहरूसँग छलफलपछि ड्रोन लिएर सुनसरी हिँडेका कार्कीले सिधै त्यहाँका दृश्यहरू प्रधानमन्त्री र उनको सचिवालयलाई पठाइरहेको बताइएको छ ।
यता कप्तानगन्ज घटनाको विषयलाई लिएर सुरक्षा निकायहरूले साझा धारणा बनाएका छन् । यो घटनाको हावा नजिकैका छिमेकी जिल्लाहरू हुँदै पश्चिम तराईसम्म पुग्ने जोखिम देखिएपछि यसबारे सुरक्षा निकायले विश्लेषण गर्दै साझा धारणा बनाएका हुन् ।
सुरक्षा निकायले निकालेको आफ्नो विश्लेषण, हुनसक्ने सम्भावित घटना र त्यसलाई न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने रणनीतिबारे गृहमन्त्रीलाई ब्रिफिङ गराएका छन् । कप्तानगञ्ज घटनाको असर नजिकैको मोरङ, सप्तरी, सिरहा, धनुषा लगायतका जिल्लाहरूमा फाट्टफुट्ट देखा पर्न थालेपछि मंगलबार साँझ गृहमन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरू, गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठलगायतबीच छलफल भएको थियो ।
सो क्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूले सुनसरी घटनालाई अब सुरक्षा चुकको विषयमा मात्रै केन्द्रीत गरेर सुरक्षाकर्मी मात्रै बढाएर समाधान हुन नसक्ने निष्कर्ष गृहमन्त्री गुरुङलाई सुनाएका थिए ।
सुरक्षा प्रमुखका अनुसार सुनसरीको घटना अब सुरक्षामात्रै नभएर राजनीतिक, सामाजिक र धार्मिक कोणबाट पनि हल खोजिनुपर्ने निष्कर्ष थियो । सुरक्षाकर्मी मात्रै फिजाएर नहुने र यसलाई ‘सेफ साइड’मा लैजाने राजनीतक दलहरू नै अग्रसर हुनुपर्ने प्रष्ट सन्देश सुुरक्षा निकायले सुनाएका थिए ।
जति ढिलो हुन्छ अन्य जिल्लाहरूमा पनि यस्तो किसिमका हिंसा भड्किने जोखिम हुनसक्नेतर्फ पनि संकेत गर्दै राजनीतिक पहलकदमी लिन सरकारलाई सुरक्षा संयन्त्रले सुझाव दिएका थिए ।
सुरक्षा निकायले मंगलबार साँझमा गरेको ब्रिफिङपछि नै रवि लामिछानेले विज्ञप्ति जारी गर्दै सर्वदलीय बैठक आह्वान गरेका हुन् । यसअघि ८ साउनमा आईजीपी दानबहादुर कार्कीले सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रुपमा नेपाल प्रवेश गर्ने क्रम बढेको बताएका थिए ।
आईजीपी कार्कीले भनेजस्तै पछिल्लो पटक दुई रोहिंग्या भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको पाइएको छ । एक जनालाई २० हजार रुपैयाँ लिएर बिचौलियाले नेपाल प्रवेश गराएको पाइएको थियो । अहिले नेपालमा ४ सयको हाराहारीमा रोहिंग्या रहेका छन् ।
यता कप्तानगञ्जमा आइतबार राति भएको घटनाको छानबिन गर्न गठित समितिका टोली बुधबार घटनास्थल पुगेका छन् । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापा नेतृत्वको ५ सदस्यीय टोलीले सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन एक हप्ताको समय पाएको छ ।
समिति सोमबारदेखि नै खटिएको थियो । बुधबार घटनास्थल पुगेर स्थानीयसँग सोधपुछ गरेको छ । घटनास्थलका प्रमाण र गोलीका खोकाहरू संकलन गरेको छ । समिति समक्ष स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
यो समूहको दाबी अनुसार दुई वर्षअघि हरिनगर क्षेत्रमा दुई समुदायबीचको विवाद मिलाउँदा पक्षपातपूर्ण व्यवहार गरेको आरोप छ । यता हरिनगरामा बुधबार दिउँसो केहीबेर तनाव भएको थियो । घुस्की, दुहबी, लौकहीलगायतका स्थानमा पनि प्रदर्शन भए ।
प्रदर्शनकारीको एक समूहले इलाका प्रहरी कार्यालय हरिनगरको ना १ झ ८७४ नम्बरको गाडी तोडफोड गरेका छन् । ढुङ्गा प्रहारबाट गाडीको सिसा फुटेको छ । सुनसरीको संवेदनशीलतालाई ध्यान दिँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको टोली संयुक्त टोली परिचालन गरिएको छ ।
छिमेकी जिल्ला र मधेश प्रदेशबाट समेत थप सुरक्षा जनशक्ति झिकाइएको प्रशासनले जनाएको छ । साम्प्रदायिक तनावको असर सीमावर्ती क्षेत्रमा पर्न नदिन प्रशासनले भारतीय सीमा नाकामा कडाइ गरेको छ ।




