२९ वैशाख , काठमाण्डौ ।
संघीय संसद्का दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाहले बीचैमा बैठक छोडेर हिँडेको विषय अहिले चर्चामा छ। आफ्नै नेतृत्वको सरकारको कार्यक्रम राष्ट्रप्रमुखले पेश गर्दा बैठक प्रधानमन्त्री नै बैठक छोडेर हिँडेको नौलो दृश्य यसअघिका संसद्हरूमा देखिएको थिएन।
संघीय संसद्मा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा र राष्ट्रपतिको बिदाइका अवसरमा प्रधानमन्त्री अनुपस्थित हुनुलाई कदापि उचित मान्न सकिँदैन भन्ने खालका प्रतिक्रियाहरू सामाजिक संजालमा यत्रतत्र देखिन्छन्। त्यसमा पनि औपचारिक वा राष्ट्रिय समारोहहरूमा प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूले राष्ट्रिय पोसाकको उपेक्षा गर्नुलाई क्रान्तिकारिता होइन भन्ने मत थुप्रैले जाहेर गरिरहेका छन्।
यस्तोमा लेखक नारायण वाग्ले भन्छन्, ’संसदको वर्षभरिको सबभन्दा महत्त्वपूर्ण क्षणमै प्रधानमन्त्री बालेन जुरूक्क उठेर हिँडेको भिडिओ देख्दा जो कोही लोकतान्त्रिक नागरिक विष्मयमा परेको हुनुपर्छ। राष्ट्रपति कुनै व्यक्तिको आसन होइन; नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित सम्मानित संस्था हो। तिनै राष्ट्रपतिमार्फत् आफूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पूरा सुन्न पनि नसकेका कि, नसुन्न चाहेका ? वा देख्नु नपरोस् भनेर पन्छिएका ? कि व्यवस्था विरोधीहरूलाई रिझाउन खोजेका ?’
वाग्लेले प्रधानमन्त्री बनेपछि बालेंले राष्ट्रपतिसँग शिष्टाचार भेट नगरेको अनि देशवासीका नाममा कुनै सम्बोधन नगरेको विषयमा पनि प्रश्न गरेका छन्। विश्लेषकहरूको बुझाइमा यो घटना नेपालको लोकतान्त्रिक मूल्य र संवैधानिक सम्मानप्रति प्रधानमन्त्री बालेनको अक्षम्य अपमान हो।
राष्ट्रपति जस्तो गरिमामय पदबाट सरकारको नीति तथा कार्यक्रम सम्बोधन भइरहँदा प्रधानमन्त्रीले बहिष्कार गर्दै उठेर हिँड्नु कुनै सभ्य राजनीतिक कार्य होइन, यो स्पष्ट रूपमा अस्थिरताको प्रतीक भएको उनीहरूको ठहर छ। कतिपयले बालेनले आफ्नो अहंकार र व्यक्तिगत असन्तुष्टिलाई राष्ट्रिय मर्यादाभन्दा माथि राखेको भनिरहेका छन्।
तर यथार्थमा राष्ट्रपति संविधानको रक्षक हुन्, उनको सम्बोधनलाई बहिष्कार गर्नु भनेको सम्पूर्ण संसदीय प्रक्रिया र लोकतन्त्रको उपहास गर्नु हो। यस्तो व्यवहारले देशको राजनीतिक स्थिरतालाई कमजोर पार्छ, जनतामा नकारात्मक सन्देश दिन्छ र युवा नेतृत्वको छविलाई धुलिसात पार्नेमा धेरैले चिन्ता समेत व्यक्त गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेनको यो कदमलाई विरोध गरिसकेका छन्। एमालेका सांसद गुरु बरालले त संसद बैठकबाटै बालेनले नीति तथा कार्यक्रम बहिष्कार गरेको ठहर गरे। राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहेको बेला उठेर बाहिर जानु बहिष्कार गर्नु सोसरह भएको उनको दाबी रह्यो।
उनले आफैँले नीति कार्यक्रम पढ्न दिएर बहिष्कार गरिनु संसदीय मर्यादाविपरीत भएको जिकिर गरे। संसदीय अभ्यासमा यस्तो अशोभनीय कार्य रेकर्डमा रहनु उपयुक्त नहुने भन्दै प्रधानमन्त्रीले उठेर हिँडेपछिको दृश्य संसदको रेकर्डबाट हटाउन उनको माग थियो।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि राज्यको प्रमुख व्यक्तित्वले संसद्मा आफैंले हस्तान्तरण गरेको नीति तथा कार्यक्रम बाचन गर्दैगर्दा छोडेर जानु राष्ट्रकै लज्जाको विषय भएको बताए। उता, श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङले राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै प्रधानमन्त्री बिचमै उठेर हिँड्नु केटाकेटी पारा भएकाले बालेनमा धैर्यको आवश्यकता भएको औल्याए।
राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा करिब १ घन्टासम्म प्रधानमन्त्री बालेन आफ्नो कुर्सीमा थिएनन्। आफ्नै सरकारले ल्याएको र राष्ट्रपतिलाई उपलब्ध गराएको नीति तथा कार्यक्रम पेस भइरहँदा पूरा समय पनि संसद बैठकमा बस्न नसकेको भनेर प्रधानमन्त्रीको आलोचना हुन थालेको छ।
नेपाली कांग्रेसले विज्ञप्ति निकालेर भनेको छ, ’’लोकतन्त्रमा वैचारिक मतभेद र शैलीगत विविधता हुनु स्वाभाविक हो। तर राज्यका विभिन्न अंगहरूबीचको पारस्परिक सम्मान,संसदीय संस्कार र संवैधानिक मर्यादाप्रतिको अटल प्रतिबद्धता भने सधैं साझा राष्ट्रिय मूल्यको रूपमा ग्रहण गर्न सक्नुपर्छ।’
हुन पनि राष्ट्रपति पौडेललाई जम्मा एक घण्टा १० मिनेट लागेको थियो। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि सभामुख डीपी अर्यालले सम्मानका निम्ति सबै सांसदहरूलाई उभिदिन निर्देशन दिएका थिए। सभामुखको निर्देशन बमोजिम संयुक्त संसदका सांसदहरूले उभिएर राष्ट्रपति पौडेललाई बिदा गरे।
सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बाहिरसम्मै निस्किएर राष्ट्रपति पौडेललाई बिदाइ गरे। तर राष्ट्रपतिलाई हलले उभिएर बिदाइ गरिरहँदा प्रधानमन्त्रीको कुर्सी भने खाली थियो। कतिपयको भनाइमा नेपाल जस्तो विकासशील देशमा यस्ता घटनाले अन्तर्राष्ट्रिय स्तरमा पनि नकारात्मक प्रभाव पार्छ।
त्यसकारण प्रधानमन्त्री बालेनले तत्काल यो गल्तीको क्षमा माग्नुपर्छ र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता देखाउनुपर्ने अन्यथा, यस्ता घटनाले मात्र देशलाई अस्थिरतातर्फ धकेल्ने विश्लेषण गरिरहेका छन्। प्रधानमन्त्री बालेनले संसद् भित्रका गतिविधिहरूलाई प्राथमिकता नदिएको भन्दै प्रश्न उठेको छ ।
उनी प्रधानमन्त्री भएपछि यो संसद्को दोस्रो अधिवेशन हो। तर उनले अहिलेसम्म बोलेका छैनन्। यद्यपि यसअघि प्रधानमन्त्री बनेपछि उनले नेपाली सेनाको एक औपचारिक कार्यक्रममा गएर मनतव्य राखिसकेका छन्। सोमबार दिउँसो २ बजेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री उपस्थित थिएनन्।
उनको तर्फबाट कानुनमन्त्रीले अध्यादेशहरू पेश गरिन्। दोस्रो बैठकमा उनी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा बाहिरिएका थिए । यद्यपि सोमबारकै तेस्रो बैठकमा भने प्रधानमन्त्री बैठकमा सहभागी भएका थिए । संसदीय अभ्यासका जानकारहरु यसलाई स्वभाविक मान्दैनन्।
त्यसमा पनि ‘नीति तथा कार्यक्रम’ सरकारले आगामी आर्थिक वर्षमा देश कसरी सञ्चालन गर्ने, कुन क्षेत्रमा प्राथमिकता दिने, के–के काम गर्ने भन्ने समग्र योजना र दिशानिर्देशन हो। सरकारले आगामी एक आर्थिक वर्षभित्र सम्पादन गर्ने मुख्य कामहरू, प्राथमिकताहरू र तिनलाई कार्यान्वयन गर्ने योजनाहरूको खाकालाई समेटेर राष्ट्रपति वा सरकार प्रमुखले संसदको संयुक्त बैठकमा सार्वजनिक गर्ने व्यवस्था छ।
यो राष्ट्रपति वा सरकार प्रमुखले संसद प्रस्तुत गर्ने भएपनि सरकारको योजना हो। राष्ट्रपति वा सरकार प्रमुखले केवल वाचन मात्रै गर्ने हो। तर समग्रमा यसको एफोर्ट सरकारकै हुन्छ। नीति तथा कार्यक्रममा आगामी एक वर्षका लागि सरकारको कार्ययोजना हुने भएकाले निकै महत्वपूर्ण मानिन्छ।
सामान्यतया राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा त्यहाँबाट निस्किन मिल्दैन तर प्रधानमन्त्री भने निस्किएर हिँडे। संसद् यतिकै पनि मर्यादित र परम्परा अनुसार चल्ने ठाउँ हो। त्यसैले राष्ट्रप्रमुखलाई विशेष सम्मानका साथ बाहिरबाट संसदको हलसम्म लैजाने र रोस्ट्रमलाई पनि सुसञ्जित बनाइन्छ।
विगतकै जस्तो परम्परामा राष्ट्रपतिलाई सोमबार पनि संसद्मा लगिएको थियो। गरिमामय दुवै सदनको बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पढे। तर, बीचमा प्रधानमन्त्री उठेर हिंडे। प्रधानमन्त्री बालेन सधैंजसो संसदमा अनौपचारिक पहिरनमै देखिन्छन्। सोमबार पनि उनले आफ्नै रुचीअनुसार कालो चस्मा, कालो पोशाक र कोट लगाएका थिए ।
यस्तोमा प्रधानमन्त्री बालेनले संसदको विशेष बैठक छलेर बीचबाटै उठेको घटनाबारे राजनीतिक सल्लाहकार असिम शाहले स्वास्थ्यको कारण देखाउँदै स्पष्टीकरण दिएका थिए। सोमबार साँझ शाहले फेसबुकमा प्रधानमन्त्रीको बचाउ गर्दै संसदमा बस्दैगर्दा स्वास्थ्यमा समस्या आएपछि नीति तथा कार्यक्रम पढ्दापढ्दै बैठक छाड्नुपरेको दाबी गरे।
‘प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो। त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ,’ उनले भनेका थिए। तर केही मिनेटभित्र शाहले उक्त पोस्ट डिलिट गरे।
समग्रमा प्रशंसा भन्दा आलोचना बढी भइरहेको प्रधानमन्त्री बालेनको यो कदमले उनीमा जवाफदेहिता र संवेदनशीलता नभएको भन्ने टिप्पणी भइरहेका देखिन्छन्। किनकी राष्ट्रपति भनेको संस्था हो।
आफूलाई विश्वासको मत दिएर प्रधानमन्त्री बनाएको संसद, त्यसमाथि आफैँले पेस गरेको नीति तथा कार्यक्रम, अनि त्यही कार्यक्रमलाई बीचैमा छोडेर हिँड्ने प्रवृत्ति सायद प्रधानमन्त्रीको यस्तो अशोभनीय व्यवहार संसदले २०१५ सालयता कहिल्यै नभोगेको जानकारहरू बताउँछन्।



