१८ साउन , काठमाण्डौ ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाटै गएमध्यरातमा पक्राउ गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
भक्तपुरका एसपी सुर्य खड्का नेतृत्वको प्रहरी टोली प्रसाईंलाई पक्राउ गर्न भक्तपुरको निकोसेरास्थित उनको घरमा पुगेको थियो । पत्रकार सम्मेलनमा प्रसाईले हिन्दु राज्य र राजसंस्था पुनस्र्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए ।

त्यसको केही घण्टामै उनी पक्राउ परेका हुन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङका विषयमा उत्तेजक अभिव्यक्ति दिएका थिए। तराईमा हिंसा भड्किनुमा गृहमन्त्रीको हात रहेको उनको दाबी थियो ।
प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । प्रसाईं यसअघि पनि पटक पटक पक्राउ परेर छुट्दै आएका थिए ।यसअघि जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो ।
त्यसबेला प्रहरीले उनलाई सामाजिक सञ्जालमा अपशब्द बोलेको कसुरमा मुद्दा चलाएको थियो । गत वर्ष जेनजी प्रदर्शन भन्दा अगाडी उनले काठमाडौँको तीनकुनेमा प्रदर्शनको नेतृत्व गरेका थिए । त्यसबेला दुई जनाको मृत्यु भएको थियो ।
लगत्तै भागेर भारत पुगेका प्रसाई पक्राउ परेका थिए । पत्रकार सम्मेलनमा प्रसाईंले सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोप लगाएका थिए । प्रसाईंले आफूहरूको आन्दोलन कुनै धर्म वा समुदाय विशेषको विरुद्ध नभई सिङ्गो व्यवस्था परिवर्तनका लागि भएको बताए ।
उनले पूर्ववर्ती सरकार र सम्झौताहरूको प्रसङ्ग जोड्दै किरात र बौद्ध धर्मसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्वहाली नै आफूहरूको मुख्य एजेण्डा भएको दोहोर्याए । प्रसाईंले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदलमार्फत आफ्ना मागहरु सम्बोधन नभए व्यवस्था ढाल्नेसम्मको चेतावनी दिए ।
प्रसाईंले नेपालका सम्पूर्ण बुद्धिजीवी, पत्रकार, र नागरिकहरूलाई देशको अस्तित्व जोगाउन र हिन्दु राष्ट्र पुनर्वहालीका लागि एकै ठाउँमा उभिन अपिल गरेका छन् । त्यसोत,दुर्गा प्रसाईं कुनै समय एमाले र माओवादी केन्द्र जस्ता मूलधारका राजनीतिक दलका शीर्ष नेताहरूसँग नजिक सम्बन्ध राख्ने व्यक्ति हुन्।
उनले विभिन्न राजनीतिक दलका नेताहरूलाई प्रयोग गरेर आफ्नो मेडिकल कलेज (झापाको बीएण्डसी हस्पिटल) सञ्चालनका लागि अनुमतिका लडाइँ लडेका थिए। पछि उनी ती दलहरूसँग असन्तुष्ट भएर राजावादी शक्ति र दक्षिणपन्थी धारतर्फ ढल्किए।
जब जब उनी पक्राउ पर्छन्, उनका पछाडि रहेका केही राजनीतिक शक्ति वा उनीप्रतिको सहानुभूति राख्ने समूहको अदृश्य दबाब प्रहरी र प्रशासनमाथि पर्ने गरेको बताइन्छ। लोकतन्त्र र कानुनको पालना गराउने नाममा राज्यले कहिले अति–उत्साही भएर पक्राउ गर्ने र पर्याप्त सबुत प्रमाण वा दिगो कानुनी अभियोजन बिना नै छाड्ने गरेको देखिन्छ।
जब अदालतबाट धरौटी वा साधारण तारेखमा रिहा हुने आदेश हुन्छ, प्रहरीले उनलाई छाड्न बाध्य हुनुपर्छ। यसले गर्दा जनताको नजरमा “प्रहरीले समात्छ, अदालत वा प्रशासनले छाड्छ“ भन्ने चक्र दोहोरिरहेको देखिन्छ ।
यस बाहेक, दुर्गा प्रसाईंको पक्राउ र रिहाइको चक्रमा स्वयं प्रसाईंको रणनीतिको पनि ठूलो हात रहेको पाइन्छ। उनी विवादमा आएर, पक्राउ परेर छुटेर फेरि चर्चामा आउन रुचाउने पात्र हुन् भनी केहीले टिप्पणी गर्छन्।
पक्राउ पर्दा उनको चर्चा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुग्छ, जसले उनको आन्दोलन र व्यक्तिगत ब्रान्डलाई थप हाइलाइट गर्न मद्दत गर्छ। दुर्गा प्रसाईंको विगतका विवादित गतिविधि, पक्राउ र रिहाइको फेहरिस्त निकै लामो छ।
उनका हालसम्मका प्रमुख घटनाक्रमहरूलाई क्रमिक रूपमा हेर्दा, उनी लामो समयदेखि झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज सञ्चालनको अनुमति लिनका लागि संघर्षरत थिए।
मेडिकल शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीसँगको विवादमा प्रसाईंले दिएका अभिव्यक्तिहरू सधैँ चर्चा र विवादमा रहे भने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग उनको निकटता र तिक्तताका शृङ्खलाहरू पनि चले।त्यसपश्चात् २०७९÷०८० को आसपासमा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापा बोलाई एक ठूलो कार्यक्रममा सरिक गराए र ’राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को घोषणा गरे।
यस अभियानमार्फत उनले बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज असुलेको भन्दै ऋण नतिर्न आह्वान गरे, जसले हजारौं साना व्यवसायी र जनतालाई प्रभावित बनायो र उनका गतिविधिहरूले राज्यको अर्थतन्त्रमाथि चुनौती खडा गर्न थालेको भन्दै उनीमाथि निगरानी बढाइयो।
गत वर्ष जेनजी प्रदर्शन भन्दा अगाडि उनले काठमाडौँको तीनकुने क्षेत्रमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेका थिए जसमा ठूलो संख्यामा मानिसहरू भेला भए र स्थिति हिंस्रक बन्न पुग्यो। प्रदर्शनका क्रममा झडप हुँदा दुई जना व्यक्तिको मृत्यु भएको थियो भने सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुग्यो।
उक्त घटनापछि प्रहरीले उनलाई मुख्य योजनाकारका रूपमा लिन खोजेको थियो र त्यसयता पनि उनी विभिन्न समयमा प्रहरीको राडरमा पर्दै पक्राउ पर्दै र छुट्दै आएका छन्। यसै सिलसिलामा गत जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो।
त्यसबेला प्रहरीले उनलाई सामाजिक सञ्जालमा अपशब्द बोलेको, मानिसहरूलाई भड्काएको र कानुन विपरीत अभिव्यक्ति दिएको कसुरमा साइबर अपराध तथा अन्य अभियोग अन्तर्गत मुद्दा चलाएको थियो जहाँ उनी अनुसन्धान पश्चात विभिन्न प्रक्रिया पूरा गरी धरौटी वा तारेखमा रिहा भएका थिए।
यी सबै शृङ्खलाहरूको निरन्तरतास्वरूप उनी गएराति नयाँ आन्दोलनको घोषणा गरेको केही घण्टाभित्रै भक्तपुरस्थित निवासबाट पुनः पक्राउ परेका हुन् । पछिल्लो समय प्रसाईं राप्रपाबाट बाहिरिएका धवलशमशेर जबरासँग मिलेर नयाँ पार्टी गठनको तयारीमा रहेका छन् ।




