१८ साउन , काठमाण्डौ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । आइतबार नै उनलाई पक्राउ गरेर प्रहरीले रातिदेखि हिरासतमा राखेको छ । यसअघि हिजो दिउँसो पत्रकार सम्मेलन गरेर प्रसाईंले आन्दोलन गर्ने घोषणा गरेका थिए ।
राति १० बजे भक्तपुर प्रहरीको टोली उनलाई पक्राउ गर्न निकोसेरास्थित निवास पुगेको थियो । भक्तपुर प्रहरीका एसपी सूर्य खड्काले सार्वजनिक शान्ति सुरक्षाको कसुरमा प्रसाईंलाई पक्राउ गरिएको बताएका छन् ।

शान्ति सुरक्षा खलबल्याएको आरोपमा प्रसाईं यसअघि पनि पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् । प्रहरीले प्रसाईंलाई आज अदालतबाट म्याद थपेर अनुसन्धान जारी राख्ने बताएको छ ।
हाल उनलाई जिल्ला प्रहरी परिसर, भक्तपुरमा राखिएको छ । उनलाई परिसरको बालमैत्री कक्षमा राखिएको खुलेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले शान्ति सुरक्षा भङ्ग गरेको प्रहरीको आरोप छ ।
यसैबीच राजावादी नेता डा. धवलशम्सेर राणाले आफ्ना सहकर्मी दुर्गा प्रसाईको पक्राउको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राणाले आलोचना, फरक मत तथा मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ भएको उल्लेख गरेका छन् ।
नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन तथा समाजको उन्नति–प्रगतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भएको उनको भनाइ छ। ‘सरकारको आलोचना गर्नै नपाइने हो भने त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ ।
राणाले विविध आस्था, धर्म, संस्कृति र परम्पराबीचको सद्भाव, सम्मान र सहअस्तित्व नेपाली समाजको मौलिक विशेषता भएको उल्लेख गर्दै पछिल्ला दिन देशका केही क्षेत्रमा देखिएको आपसी द्वन्द्व, झडप, आगजनी र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले यस्तो संवेदनशील अवस्थामा नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्नु, दिगो शान्तिको वातावरण कायम गर्नु तथा सरकारको जवाफदेहिताका लागि खबरदारी गर्नु नागरिकको कर्तव्य भएको बताएका छन् ।
यही सन्दर्भमा विश्वव्यापी रूपमा स्थापित मानवअधिकार तथा संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण दुर्गा प्रसाईलाई गएराति निवासबाट पक्राउ गरिएको भन्दै राणाले त्यसको निन्दा गरेका छन् ।
उनले दुर्गा प्रसाईको तत्काल रिहाइ गर्न सरकारसँग मागसमेत गरेका छन् । राप्रपा परित्याग गरेका धवलशमशेर राणा र प्रसाईंले साउनभित्रै नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेका छन्।
विभिन्न चरणको छलफलपछि पार्टी दर्ताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । अभियानमा संलग्न सगुन लावतीका अनुसार साउन २६ गते पार्टी दर्ता गर्ने तयारी छ । त्यसअघि पार्टीको नाम, झण्डा र अन्य विषय टुंग्याउन गठित कार्यदलले अन्तिम निर्णय गर्नेछ ।
नयाँ पार्टीको स्वरूप परम्परागतभन्दा फरक ‘कन्जरभेटिभ’ मोडलको हुने, संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डालाई अघि बढाउने तथा युवा पुस्तालाई आकर्षित गर्ने रणनीति रहेको नेताहरूको भनाइ छ । यसैबीच प्रसाइँ भने फेरि पक्राउ परेका हुन् ।




