हसिनाको सम्बोधन रोक्न भारतले मानेन, आज साँझ लाइभ आउने

२० साउन , काठमाण्डौ ।

Advertisement

२ वर्षदेखि निर्वासित राजनीतिक शरणका रुपमा भारतमा आश्रय लिएर बसिरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना आज शरणलिए पछि २ वर्षमा पहिलो पटक सार्वजनिक हुँदैछिन् । उनले सार्वजनिक रुपमा गर्ने सम्बोधन रोक्न बंगलादेशले पहल समेत गरेको थियो ।

तर भारतले आफूकहाँ शरण लिएर बसेकी हसिनाले गर्ने भनिएको सम्बोधनमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै बंगलादेश सरकारलाई जवाफ पठाएको छ । हसिनाको भर्चुअल भाषणमा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको उसले स्पष्ट पारेको हो ।

Advertisement

नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हसिनाको उक्त कार्यक्रमसँग भारत सरकारको कुनै सरोकार नरहेको बताएका हुन्। उनले भने, ‘सरकारको यसमा कुनै संलग्नता छैन र फोरममा व्यक्त हुन सक्ने कुनै पनि विचारलाई समर्थन गर्दैन। तपाईंले उल्लेख गरिरहनुभएको अन्तरक्रिया एक निजी मिडिया संस्थाले आयोजना गरेको हो।’

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई प्रस्तुत गर्ने यो भर्चुअल कार्यक्रम आज साँझ हुनेछ । विदेशी संवाददाता क्लब अफ साउथ एशिया (एफसीसी साउथ एसिया) द्वारा आयोजित यस कार्यक्रमको भौतिक जमघट नयाँ दिल्लीको मथुरा रोडमा रहेको सर मार्क टुली अडिटोरियममा हुनेछ ।

Advertisement

साथै, विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा यसको प्रत्यक्ष प्रसारण पनि गरिनेछ । दुई वर्षअघि बंगलादेश छाडेपछि हुन लागेको यो कार्यक्रम हसिनाको पहिलो सार्वजनिक उपस्थिति र मिडिया अन्तरक्रिया हो। पर्यवेक्षकहरूले हसिनाले आफ्नो मौनता तोड्न, आगामी राजनीतिक रोडम्याप बनाउन र बंगलादेश फर्कने योजनाहरूबारे चर्चा गर्ने अपेक्षा गरेका छन् ।

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएपछि ७८ वर्षीया हसिना हाल नयाँ दिल्लीमा स्वयम् निर्वासनमा बस्दै आएकी छिन् । यसअघि बंगलादेशले भारतलाई हसिनाको सम्बोधनप्रति आपत्ति जनाउँदै यसले द्विपक्षीय सम्बन्धमा असर पार्न सक्ने चेतावनी दिएको थियो ।

बंगलादेशले ‘भारतीय भूमि प्रयोग गरेर देशमा अस्थिरता फैलाउने खालका राजनीतिक गतिविधि गर्न नदिन’ भन्दै दिल्लीबाट सहयोगको अपेक्षा गरेको थियो। जुलाई २०२४ को राजनीतिक उथलपुथलपछि बंगलादेशले भारतसँग हसिनाको सुपुर्दगीको माग गर्दै आएको छ।

सोही कारण दुई देशबिचको सम्बन्धमा पनि चिसोपन आएको छ । यसैबीच बंगलादेश सरकारले स्थानीय सञ्चारमाध्यमहरूलाई हसिनाको भाषण प्रसारण गर्न प्रतिबन्ध लगाएको छ। कानुन उल्लंघन हुने भन्दै त्यस्ता सामग्री प्रकाशन वा प्रसारण नगर्न चेतावनी दिइएको हो ।

यता, हसिनाको अवामी लिग पार्टीले भने सरकारले पत्रकारहरूलाई धम्की दिन खोजेको भन्दै प्रतिबन्धको कडा विरोध गरेको छ । सन् २०२४ को मध्यतिर बंगलादेशमा भएको ठूलो विद्यार्थी आन्दोलनले त्यहाँको लामो समयदेखिको राजनीतिक व्यवस्था फेदबदल गरिदियो ।

सरकारी जागिरको आरक्षण प्रणालीविरुद्ध उठेको यो आन्दोलन देशैभर फैलिँदै सरकारविरुद्धको विद्रोहमा परिणत भयो । त्यसपछि २५ वर्षसम्म सत्तामा रहेकी प्रधानमन्त्री हसिनाले पद छाडिन् र भारतमा शरण लिन पुगिन्। उनको बहिर्गमनलगत्तै नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।

त्यसको केही समयपछि बंगलादेशको राजनीतिमा ठूलो फेरबदल आयो र हसिनाको पार्टी ’अवामी लिग’ माथि प्रतिबन्ध लगाइयो । देशमा फेरि लोकतन्त्र फर्काउन सन् २०२६ को फेब्रुअरीमा भएको निर्वाचनबाट तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बन्यो ।

आन्दोलनका क्रममा भएको दमन र हिंसाको विषयमा बंगलादेशको अदालतले सन् २०२५ मा हसिनालाई मृत्युदण्डको सजाय सुनाइसकेको छ। अहिले नयाँ सरकारले उनलाई कारबाहीका लागि भारतसँग फर्काइदिन माग गरिरहेको छ, जसले गर्दा दुई देशबिच अझै पनि तनाव कायम छ ।

बंगलादेशको विरोधका बावजुद आज हसिनाको सम्बोधन कार्यक्रम साँझ ६ बजेदेखि ७ः३० बजेसम्म सञ्चालन हुनेछ । बंगलादेशले सोमबार भारतसँग शेख हसिना वा प्रतिबन्धित संगठनसँग सम्बन्धित कुनै पनि व्यक्तिलाई भारतको भूमिबाट राजनीतिक भाषण दिन वा बंगलादेशमा अस्थिरता फैलाउन सक्ने गतिविधि गर्न अनुमति नदिन आग्रह गरेको थियो ।

ढाकाको भनाइमा यदि, कुनै ‘भगौडा’ नेतालाई भारतको भूमिबाट राजनीतिक गतिविधि गर्न अनुमति दिइयो भने त्यसले दुवै देशबीच सुधारिँदै गएको सम्बन्धमा नकारात्मक असर पार्न सक्छ । यो विषय सोमबार बंगलादेशका प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायुँ कबिर र ढाकास्थित भारतीय उच्चायुक्त दिनेश त्रिवेदीबीच भएको भेटवार्तामा पनि उठाइएको थियो ।

५ अगस्ट २०२४ कै दिन विद्यार्थी आन्दोलनपछि शेख हसिनाले बंगलादेश छाड्नुपरेको थियो । प्रदर्शनकारीहरू उनको सरकारी निवाससम्म पुगेपछि उनले राजीनामा दिँदै सेनाको विमानमार्फत भारत प्रस्थान गरेकी थिइन् । जुन दिन उनले सत्ता छाड्नुपरेको थियो, ठ्याक्कै दुई वर्षपछि सोही दिन उनी पुनः सार्वजनिक रूपमा देखिन लागेकी हुन् ।

यसै दिनलाई रोजेर उनले आफ्नो राजनीतिक पुनरागमनको सन्देश दिन खोजेको अनुमान गरिएको छ । हसिनासँगै उनका छोरा सजिब वाजेद जोय तथा अवामी लिगका अन्य नेताहरू पनि कार्यक्रममा सहभागी हुने बताइएको छ ।

कार्यक्रममा हसिनाले आफू बंगलादेश कहिले फर्किने भन्नेबारे जानकारी दिन सक्ने अपेक्षा गरिएको छ । हालै उनले डिसेम्बर २०२६ मा स्वदेश फर्किएर अदालतसमक्ष उपस्थित हुने योजना रहेको बताएकी थिइन्। स्वदेश फर्किएपछि आफू पक्राउ पर्न सक्ने वा आफ्नो ज्यान जोखिममा पर्न सक्नेबारे आफू जानकार रहेको पनि उनले बताएकी थिइन् ।

शेख हसिना अगस्ट २०२४ देखि भारतमा रहँदै आएकी छन् । बंगलादेशले पटक–पटक उनको सुपुर्दगीको माग गर्दै आएको छ । यता, सेप्टेम्बरमा हुने ब्रिक्स सम्मेलनका लागि बंगलादेशका प्रधानमन्त्री तारिक रहमान भारत आउने सम्भावना छ ।

यस्तो अवस्थामा ढाका भारतको भूमिबाट हसिनाले कुनै राजनीतिक सन्देश दिन नपाऊन् भन्ने चाहन्छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार भारतले बंगलादेशका प्रधानमन्त्री तारिक रहमानलाई भारत भ्रमणको निमन्त्रणा दिएको छ ।

उनका अनुसार सेप्टेम्बरको सुरुमा नयाँ दिल्लीमा हुने ब्रिक्स सम्मेलनमा तारिक रहमानलाई आमन्त्रण गरिएको हो । बंगलादेश हाल बिम्सटेकको अध्यक्ष भएकाले उनलाई सम्मेलनको ‘आउटरिच’ सत्रमा निमन्त्रणा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top