नेपाल ‘ए’ आज बंगलादेश हाई–परफर्मेन्ससँग भिड्दै, पहिलो जितको खोजी

६ भदौ ८३, शनिबार

६ भदौ , काठमाण्डौ ।

Advertisement

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज बंगलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ ।

डार्विनस्थित मारारा ओभलमा हुने नेपाली समयअनुसार अपराह्न २ः१५ बजे खेल सुरु हुने नेपाल क्रिकेट संघले जनाएको छ । नेपाल ‘ए’ले पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि आज ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै बंगलादेश हाई–परफर्मेन्सलाई चुनौती दिने तयारी गरेको छ ।

Advertisement

प्रतियोगिताको सुरुआतमै हार व्यहोरे पनि नेपालसँग लिग चरणमा सुधारको अवसर बाँकी छ । शुक्रबार हार व्योहोरेको खेलमा नेपालले जितका लागि दिएको १२३ रनको लक्ष्य पछ्याएको नर्दन टेरिटोरी स्ट्राइकले १५ ओभरमा मात्र दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

अब सिरिजमा आफ्नो लय समात्न नेपालका लागि यो खेल महत्वपूर्ण मानिएको छ । नेपाली टोलीले आफ्नो ब्याटिङ र बलिङ दुवै क्षेत्रमा सुधार गर्दै मैदानमा उत्रिने तयारी गरेको छ । नेपालले यसअघि गत वर्षको टप एन्ड टी–२० मा पनि बंगलादेश ‘ए’ विरुद्ध खेलेको थियो ।

Advertisement

उक्त खेलमा नेपाल २९ रनले पराजित भएको थियो । प्रतियोगितामा प्रत्येक टोलीले लिग चरणमा छ खेल खेल्ने भएकाले नेपालका लागि आजको खेलपछि पनि अगाडि बढ्ने पर्याप्त अवसर रहनेछ । प्रतियोगितामा नेपालले लगातार दोस्रोपटक सहभागिता जनाउँदै छ ।

नेपालले गत वर्ष पनि यो प्रतियोगिता खेलेको थियो । गत वर्ष नेपालले आईसीसी टी–२० विश्वकप छनोटको तयारीस्वरुप सिनियर टोलीलाई नै त्यहाँ पठाएको थियो भने यसपटक नेपाल ‘ए’ ले प्रतिस्पर्धा गर्दै छ । नेपाल क्रिकेट संघ (क्यान) ले अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।

यसपटक भने एसीसी प्रिमियर कपसँग तालिका जुधेकाले सिनियर टोलीको सट्टा नेपाल ‘ए’ टोली अस्ट्रेलिया पुगेको हो । गत संस्करणमा नेपालले ६ खेलबाट दुई जित र चार पराजयको नतिजा आत्मसात गरेको थियो । होबार्ट हुरिकेन्स एकेडेमी र मेलबर्न रेनेगेड्स एकेडेमीलाई हराएको नेपाल मेलबर्न स्टार्स एकेडेमी, एनटी स्ट्राइक, बंगलादेश ए र पाकिस्तान शाहीन्ससँग पराजित भएको थियो ।

यसपटक नेपालले प्रतियोगितामा ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । टोली एनटी स्ट्राइक, बंगलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरियाविरुद्ध मैदान उत्रिने छ । नेपालको टोलीमा अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बोकेका खेलाडी पनि छन् ।

कप्तान अनिल साहसँगै कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, शाहब आलम, रुपेश सिंह, पवन सर्राफ, आकाश चन्द, रिजन ढकालले नेपालको सिनियर टोलीका लागि खेलिसकेका छन् । सिनियर टोलीका नियमित सदस्य कुशल भुर्तेललाई केही समय एकदिवसीय क्रिकेटबाट विश्राम दिएर नेपाल ‘ए’ टोलीमा समावेश गरिएको हो ।

भुर्तेलको उपस्थितिले युवा खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा अनुभव बटुल्ने अवसरसमेत पाउनेछन् । नेपालले अगस्ट २४ मा होबार्ट हुरिकेन्सको सामना गर्नेछ । त्यसपछि नेपालले अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियाविरुद्ध खेल्नेछ ।

यो प्रतियोगितामा नेपाली खेलाडीले डार्शी सर्ट, स्कट कुगेलेइन, बिली स्टानलेकल, सायन जहान्गिर, सबिर रहमानजस्ता स्टार खेलाडीको सामना गर्नेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top