बाहिरै ग्यास भरेर काठमाडौं पठाइँदै, अभाव हुन नदिने

१८ भदौ ८३, बिहीबार
Share this
748shares

१८ भदौ , काठमाण्डौ ।

Advertisement

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको नियमित ढुवानी प्रभावित भएको छ । मुख्य सडकखण्डमा समस्या आएपछि ग्यास बोकेका बुलेटहरू वैकल्पिक मार्गबाट समेत सहज रूपमा काठमाडौं प्रवेश गर्न नसकेपछि अहिले राजधानी बाहिरै रहेका विभिन्न ग्यास उद्योगमा सिलिन्डर भरेर उपत्यकातर्फ पठाउने व्यवस्था मिलाइएको छ।

सडक अवरुद्ध हुँदा उपत्यकामा ग्यासको अभाव हुनसक्ने चिन्ता बढिरहेका बेला व्यवसायीहरूले भने आपूर्ति व्यवस्थालाई निरन्तरता दिन वैकल्पिक उपाय अपनाइएको बताएका छन्। ग्यास बुलेटलाई काठमाडौंसम्म पु¥याउन कठिन भएपछि राजधानीमा रहेका उद्योगका खाली सिलिन्डर अन्य जिल्लाका उद्योगमा लगेर त्यहीँ ग्यास भर्ने र ट्रकमार्फत पुनः काठमाडौं पठाउने क्रम सुरु भएको हो।

Advertisement

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार उपत्यका तथा आसपासका क्षेत्रमा सञ्चालनमा रहेका केही उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासीका विभिन्न ग्यास उद्योगसँग समन्वय गरी सिलिन्डर भर्ने काम थालेका छन्।

यसरी बाहिरी जिल्लाबाट भरिएका सिलिन्डरलाई वैकल्पिक सडकमार्ग प्रयोग गरी काठमाडौं उपत्यकामा पठाउन थालिएको हो।  व्यवसायीका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनको एसटिसी ग्यास वीरगञ्जस्थित मनोज ग्यास उद्योगमा भरेर काठमाडौं पठाउन थालिएको छ।

Advertisement

यसैगरी, चितवनको बाबा ग्यासले पनि काठमाडौंमा आवश्यक पर्ने सिलिन्डर अन्य कम्पनीका लागि भरेर पठाएको जनाएको छ। बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मंगलबार मात्रै चितवनस्थित बाबा ग्यास उद्योगले श्री ग्यासका करिब एक हजार पाँच सय सिलिन्डर भरेर काठमाडौं पठाएको छ।

श्री ग्यासको आफ्नै प्लान्ट धादिङको नौबिसेमा रहेको छ। कृष्णभीर क्षेत्रमा सडक भासिएपछि नौबिसेमा रहेको उद्योगसम्म ग्यास बुलेट पु¥याउन कठिनाइ भएपछि अन्य उद्योगबाट सिलिन्डर भर्ने व्यवस्था मिलाइएको हो।

त्यस्तै, चितवनकै साइबाबा ग्यासले आफ्नै करिब नौ सय सिलिन्डर भरेर काठमाडौं पठाएको छ। नेपाल ग्यास गण्डकीले पनि बालाजुस्थित नेपाल ग्यासका लागि करिब एक हजार दुई सय सिलिन्डर भरेर पठाएको व्यवसायीहरूले बताएका छन्।

त्यसैगरी, गैँडाकोटको जानकी ग्यास उद्योगमा नौबिसेको श्रीराम ग्यासका सिलिन्डर भरेर काठमाडौं पठाउने व्यवस्था गरिएको छ। हेटौँडास्थित साहारा ग्यास उद्योगमा पनि काठमाडौंका एभरेष्ट र सुगम ग्यासका सिलिन्डर भरेर पठाउन थालिएको छ।

काठमाडौंसम्म ग्यास ढुवानीमा देखिएको समस्या समाधान गर्न अन्य उद्योगहरूले पनि राजधानी बाहिरका उद्योगसँग समन्वय गरिरहेका छन्। व्यवसायी विमल कालाखेतीका अनुसार बनेपास्थित सगरमाथा ग्यासले परासीको चण्डी ग्यास उद्योगमा सिलिन्डर भर्न थालेको छ।

बनेपाका लोकप्रिय, सुपर ग्यास, तारा ग्यासलगायत उद्योगले पनि राजधानी बाहिर रहेका विभिन्न ग्यास उद्योगमा सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं पठाउन सुरु गरेका छन्। व्यवसायीहरूले सडक अवरोधका कारण ग्यासको आपूर्ति प्रणालीमा केही व्यवस्थापकीय चुनौती आए पनि बजारमा ग्यासको वास्तविक अभाव भने नहुने दाबी गरेका छन्।

उनीहरूका अनुसार भारतबाट नेपाल आउने एलपी ग्यासको आयातमा कमी आएको छैन। मुख्य समस्या भनेको आयात गरिएको ग्यास बोकेका बुलेटलाई सम्बन्धित उद्योगसम्म पु¥याउन नसक्नु हो।ग्यास उद्योगीका अनुसार बुलेट गन्तव्यसम्म पु¥याउन नसकेपछि बाहिरी जिल्लाका सञ्चालनमा रहेका उद्योगमा सिलिन्डर भर्ने र भरिएका सिलिन्डर ट्रकमार्फत काठमाडौं पठाउने व्यवस्था गरिएको हो।

यसले आपूर्ति शृंखला अवरुद्ध हुन नदिने अपेक्षा गरिएको छ। कालाखेतीका अनुसार गत महिना भारतबाट करिब ६० हजार दुई सय मेट्रिकटन एलपी ग्यास नेपाल भित्रिएको थियो। उनका अनुसार यो हालसम्मकै उच्च परिमाणमध्ये एक हो। भारतबाट पर्याप्त मात्रामा ग्यास आइरहेको र सोही अनुपातमा आयात जारी रहेकाले तत्काल ग्यास अभाव हुने अवस्था नरहेको उनको भनाइ छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले पनि नेपाल आयल निगमले ग्यास उद्योगीहरूलाई राजधानी बाहिर रहेका उद्योगमा सिलिन्डर भर्ने अनुमति दिएको जानकारी दिएका छन्। उनका अनुसार सडक अवरोधका कारण उत्पन्न भएको ढुवानी समस्यालाई ध्यानमा राख्दै यस्तो वैकल्पिक व्यवस्था गरिएको हो।

हाल उपत्यका र आसपासका क्षेत्रमा रहेका १६ वटा ग्यास उद्योगले राजधानी बाहिरका उद्योगसँग समन्वय गरेर सिलिन्डर भर्ने र काठमाडौं पठाउने काम गरिरहेका छन्।

विशेषगरी बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी पूर्व अर्थात् नवलपुर र नवलपरासी पश्चिमका ग्यास उद्योगसँग समन्वय भइरहेको बताइएको छ।नेपाल एलपी ग्यास उद्योग संघका अनुसार देशमा खपत हुने कुल एलपी ग्यासमध्ये करिब ४० प्रतिशत उपत्यका र उपत्यका आसपासका जिल्लामा मात्रै खपत हुने गर्छ।

त्यसैले काठमाडौंको आपूर्ति प्रणालीमा कुनै पनि प्रकारको अवरोध आउँदा त्यसको प्रत्यक्ष असर ठूलो जनसंख्यामा पर्न सक्छ। यही कारण सडक अवरुद्ध भएपछि ग्यास उद्योगहरूले तत्काल वैकल्पिक आपूर्ति व्यवस्था अघि बढाएका हुन्।

नियमित रूपमा बुलेटबाट उद्योगसम्म ग्यास ल्याएर सिलिन्डर भर्ने प्रक्रियामा अवरोध आए पनि अन्य उद्योगको प्रयोगबाट सिलिन्डर भर्ने व्यवस्था मिलाइएपछि बजारमा आपूर्ति कायम राख्न सहयोग पुग्ने देखिएको छ।यद्यपि सडकको अवस्था लामो समयसम्म सामान्य नहुँदा ढुवानी लागत, समय र वितरण व्यवस्थापनमा थप दबाब पर्न सक्ने व्यवसायीहरूको भनाइ छ।

त्यसैले सडकमार्ग छिटो सञ्चालनमा ल्याउन सके एलपी ग्यासको नियमित आपूर्ति व्यवस्थालाई थप सहज बनाउन सकिनेछ।अहिलेका लागि व्यवसायीहरूले उपत्यकामा ग्यासको अभाव नहुने र आपूर्ति व्यवस्थालाई वैकल्पिक माध्यमबाट निरन्तरता दिइरहेको बताएका छन्।

उपभोक्ताहरूले अनावश्यक रूपमा ग्यास सञ्चय नगरी आवश्यकता अनुसार मात्रै खरिद गर्न व्यवसायीहरूले आग्रह गरेका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि सिर्जित ढुवानी समस्याका बीच ग्यास उद्योगहरूले अपनाएको यो वैकल्पिक व्यवस्थाले राजधानीको आपूर्ति प्रणालीलाई तत्काल राहत दिने अपेक्षा गरिएको छ।

अब सडकको अवस्था कहिलेसम्ममा सामान्य हुन्छ र नियमित ढुवानी कहिलेबाट पुनः सुचारु हुन्छ भन्ने विषयले भने ग्यास आपूर्तिको आगामी अवस्थालाई निर्धारण गर्नेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top