२७ भदौ ,काठमाण्डौ।
नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल सन २०२७ मा बंगलादेशमा हुने एसिया कपमा छनोट भएको हो । मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो ।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो । यूएईका लागि राहुल चोपराले अविजित शतक बनाएपनि पर्याप्त हुन सकेन । तनिश सुरीले ४२ रन बनाए । कप्तान हरप्रित भाटियाले ३३ रन बनाए । नेपालका लागि करण केसीले ३ विकेट लिए ।



ललित राजवंशीले २ तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो योगफल खडा गरेको थियो ।
आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए । गुल्शनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए । अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रन बनाए । आसिफले आफ्नो ओडीआई करियरको दोस्रो शतक बनाएका हुन् ।

आसिफले आउट हुनुअघि अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि रोहित पौडेलसँग ६८ रनको साझेदारी गरे ।
यूएईका लागि इबरार अहमदले ४ विकेट लिँदा खुजाइमा बिन तनभिरले २ विकेट लिए भने हैदर अली, अदीब उसमानीले १–१ विकेट लिए । नेपालले यसअघि सन् २०२३ को प्रिमियर कपको फाइनलमा पनि यूएईलाई नै पराजित गरेको थियो । यस्तै आजको खेलमा नेपालका ओपनर आशिफ शेखले बनाएको शतक एकदिवसीय क्रिकेटमा उनको करियरको दोस्रो शतक हो ।

यसअघि उनले सन् २०२३ को वल्र्ड कप लिग टुमा पपुवा न्युगिनी विरूद्ध टियु क्रिकेट मैदानमा पहिलो एक दिवसीय शतक प्रहार गरेका थिए । यसअघि रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले मात्र एक दिवसीय क्रिकेटमा नेपालको लागि दोस्रो शतक प्रहार गरेका छन् ।
आशिफ दोस्रो शतक बनाउने चौथो खेलाडी बनेका हुन् । यता गुल्शन झाले पनि एक दिवसीय क्रिकेटमा १ हजार रन पूरा गरेका हुन् । उनले आज युएईविरूद्ध ३७ रन बनाएपछि १ हजार रनको आँकडा पूरा गरेका हुन् । आजको खेल सुरू हुनु अगाडि उनको नाममा ९ सय ६३ रन रहेको थियो ।

उनले ५३ खेल खेल्दै ४५ इनिङ्सबाट १ हजार रन पूरा गरेका हुन् । नेपालको लागि एकदीवसीय क्रिकेटमा १ हजार रन पूरा गर्ने गुल्शन सातौं खेलाडी हुन् । रोहित पौडेलले र आशिफ शेखले २ हजार रनको आँकडा पार गरिसकेक छन् । यस्तै दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र आरिफ शेखले १ हजार रनको आँकडा पार गरिसकेका छन् ।
गुल्सनको यो एक दिवसीय क्रिकेटमा छैटौं अर्धशतक हो । अब नेपालले दोस्रो पटक एकदिवसीय एसिया कप खेल्नेछ । सन २०२३ को एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसंग खेलेको थियो । नेपाल र युएई दुवै इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भैसकेका छन् । युएईले सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै एसिया कपको उपाधि जितेको थियो ।




