काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सीता थपलियाको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले भारत भ्रमणका क्रममा आफूले प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दलाई नेपालको राष्ट्रिय विरासत र विगतका महत्वपूर्ण निर्णयसँग जोडेर बुझ्न नहुने स्पष्ट पारे।
उनका अनुसार ‘ओल्ड ब्यागेज’ भन्नाले विगतमा देखिएको आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिलाई संकीर्ण राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्तिलाई जनाइएको हो। मन्त्री खनालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्सा तथा त्यसलाई अनुमोदन गर्ने संविधान संशोधनलाई कुनै पनि अवस्थामा ‘बोझ’ मान्न नसकिने बताए। उनले उक्त निर्णय संसद्को सर्वसम्मत निर्णय र नेपाली जनताको साझा राष्ट्रिय संकल्प भएको उल्लेख गरे।
‘मुलुकको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा तथा ऐतिहासिक दस्तावेजको संरक्षणप्रति मेरो अभिव्यक्ति लक्षित होइन,’ उनले भने। खनालले छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ–हानिको औजार बनाउने विगतको अभ्यास त्यागेर समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा सम्बन्ध अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए। उनले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै स्पष्ट, परिपक्व र परिणाममुखी कूटनीतिमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउने सरकारको प्राथमिकता रहेको पनि बताए।




