काठमाडौँ । विपद्का कारण परिवारबाट छुटेका, अभिभावक वा संरक्षकविहीन भएका तथा विशेष संरक्षण आवश्यक पर्ने बालबालिकाको सुरक्षा र संरक्षणका लागि सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ। योजनाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा विपद् प्रभावित बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा आएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा राष्ट्रिय बाल अधिकार परिषद्ले सञ्चालनमा ल्याएको उक्त केन्द्रले विपद्बाट प्रभावित तथा तत्काल संरक्षण आवश्यक पर्ने बालबालिकालाई सुरक्षित आश्रय र आवश्यक सेवा उपलब्ध गराउनेछ।
केन्द्रमा उद्धार गरिएका तथा संरक्षण आवश्यक बालबालिकाका लागि सुरक्षित आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक अवस्था पहिचान तथा परिवार वा आफन्तको खोजी लगायतका सेवा उपलब्ध गराइनेछ।बालबालिकाको सर्वोत्तम हित र सुरक्षालाई प्राथमिकतामा राख्दै सम्भव भएसम्म उनीहरूलाई परिवार वा उपयुक्त आफन्तसँग सुरक्षित रूपमा पुनर्मिलन गराउने व्यवस्था मिलाइनेछ। परिवार वा आफन्तसँग पुनर्मिलन सम्भव नभएको अवस्थामा भने बालबालिकाको सर्वोत्तम हित, सुरक्षा र आवश्यकताको मूल्याङ्कन गरिनेछ। त्यसपछि प्रचलित कानुन तथा मापदण्डअनुसार आवश्यक परेमा दीर्घकालीन सुरक्षित संरक्षणको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।
सरकारले विपद्का बेला बालबालिका परिवारबाट छुट्ने, अभिभावकविहीन हुने वा विभिन्न प्रकारका जोखिममा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै तत्कालीन उद्धारसँगै संरक्षण, उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनसम्मको समग्र सेवा उपलब्ध गराउने उद्देश्यले ‘स्याहार योजना’ अघि बढाएको हो।




