काठमाडौँ। नेपाली महिला तथा युवतीलाई प्रलोभनमा पारी भारत पुर्याएर शोषण गर्ने गरेको समाचार सार्वजनिक भएपछि सरकारले घटनाको छानबिन अघि बढाएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक भएका विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयसँग आवश्यक समन्वय गरिसकेको र सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई छानबिनका लागि निर्देशन दिएको जनाएको छ।
मन्त्रालयले असोज ४ गते जारी गरेको विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित खोजमूलक समाचारलाई प्रारम्भिक सूचनाका रूपमा लिएर घटनाको सत्यतथ्य पत्ता लगाउने प्रक्रिया अघि बढाइएको उल्लेख गरेको छ। सञ्चारमाध्यममा प्रकाशित विवरणमा नेपाली महिला तथा युवतीलाई झुटा आश्वासन र प्रलोभन देखाएर बिचौलियामार्फत भारत लैजाने र त्यहाँ शोषणमा पार्ने गरिएको विषय उठाइएको थियो।मन्त्रालयका अनुसार छानबिनका क्रममा सम्बन्धित घटना, व्यक्ति, बिचौलिया, संस्था, सीमा नाका, यात्राको माध्यम तथा सम्भावित आपराधिक सञ्जालबारे अनुसन्धान गरिनेछ। आवश्यक प्रमाण संकलन, सम्भावित पीडितको पहिचान तथा संरक्षण र संलग्न व्यक्तिमाथि अनुसन्धानका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
यद्यपि, मन्त्रालयले अहिलेसम्म पीडितको संख्या, आरोपितको परिचय वा पक्राउसम्बन्धी विवरण सार्वजनिक गरेको छैन। नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी रोजगारी, विवाह, अध्ययन, वैदेशिक रोजगारी वा मनोरञ्जनका अवसरको प्रलोभनमा महिला, युवती तथा बालबालिकालाई सीमापार लैजाने र शोषण गर्ने कार्यमा संलग्नता पुष्टि भए कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

नेपाली नागरिकलाई सीमापार पुर्याउँदैमा नेपालको सरोकार समाप्त नहुने उल्लेख गर्दै मन्त्रालयले त्यस्ता कार्यमा संलग्न व्यक्ति कानुनी कारबाहीबाट उम्कन नसक्ने जनाएको छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले यस्ता कार्यलाई गम्भीर कसुरका रूपमा परिभाषित गरेको पनि मन्त्रालयले जनाएको छ।मन्त्रालयले अनुसन्धान र कानुनी कारबाहीसँगै सम्भावित पीडितको उद्धार, संरक्षण, सुरक्षित घरफिर्ती र पुनर्स्थापनालाई पनि प्राथमिकतामा राखेको जनाएको छ।
यस्तै, सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट आउने अस्वाभाविक रोजगारी, उच्च आम्दानी, विदेश यात्रा, विवाह, मोडलिङ तथा मनोरञ्जनसम्बन्धी आकर्षक प्रस्तावप्रति सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ।

वैदेशिक रोजगारी, अध्ययन वा यात्रामा जानुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता यकिन गर्न र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। राहदानी, नागरिकता, बैंक विवरण तथा अन्य व्यक्तिगत कागजात अपरिचित व्यक्ति वा बिचौलियालाई सहजै उपलब्ध नगराउनसमेत आग्रह गरिएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा मानव बेचबिखन, जबर्जस्ती वा प्रलोभनमा सीमापार लैजाने प्रयास तथा शोषणसम्बन्धी सूचना तत्काल सम्बन्धित निकायलाई उपलब्ध गराउन आग्रह गरिएको छ।यस्तो सूचना नजिकको प्रहरी कार्यालय, सम्बन्धित सरकारी निकाय वा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई दिन सकिने मन्त्रालयले जनाएको छ।





