रास्वपाले विपद् व्यवस्थापनदेखि संगठन विस्तारसम्मका निर्णय अघि बढायो

४ असोज ८३, आइतबार
Share this
727shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले भोटेकोशी विपद् व्यवस्थापन, पार्टीका गतिविधि सञ्चालन, अन्तर्राष्ट्रिय सम्बन्ध, संगठन विस्तार तथा विभिन्न पदमा नियुक्तिसम्बन्धी निर्णय गरेको छ। पार्टीले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोजी, उद्धार, राहत वितरण, पुनर्स्थापना तथा पुनर्निर्माणका कामबारे सरकारमा सहभागी पदाधिकारी तथा सदस्यबाट जानकारी लिएको जनाएको छ। बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाको शीघ्र डीएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिका परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंग्याउन सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ।

Advertisement

भोटेकोशी विपद्का कारण राष्ट्रिय शोक र राहतमा केन्द्रित हुन स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुनः सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। रास्वपाका अनुसार ‘हामी सुन्छौं’ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया तथा सांगठनिक र जनसम्पर्कका कार्यक्रम अब अविलम्ब अघि बढाइनेछन्। बैठकमा पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता र आर्थिक कूटनीतिबारे सचिवालयलाई जानकारी गराएका थिए।

बैठकले भोटेकोशी विपद्सँग सम्बन्धित बहुआयामिक पक्ष, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकालगायत विषयमा सम्बोधन गर्ने गरी परराष्ट्रमन्त्रीलगायतको कार्यदललाई तयारी गर्न नीतिगत निर्देशन दिएको छ।

Advertisement

रास्वपाको मधेस प्रदेशको सांगठनिक अवस्था र कार्यसम्पादनबारे प्रारम्भिक प्रतिवेदन पनि बैठकमा प्रस्तुत भएको छ। पार्टीका सहमहामन्त्री तथा मधेस प्रदेश संयोजक हरि ढकालले प्रतिवेदन प्रस्तुत गरेका थिए। विस्तृत प्रतिवेदन प्राप्त भएपछि आवश्यक थप रणनीतिक कदम अघि बढाउने निर्णय गरिएको पार्टीले जनाएको छ।

त्यस्तै बैठकले केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिने क्रममा विभिन्न अधिवक्तालाई आयोगको सदस्यमा नियुक्त गरेको छ। यस्तै युवा, खेलकुद तथा सशक्तीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति र सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागमा पनि सदस्य तथा जिम्मेवारी तोकिएको छ।

Advertisement

पार्टी प्रवक्ता जगदिश खरेलका अनुसार नवमनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले सभापति लामिछानेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। रास्वपाले बैठकका निर्णय सार्वजनिक गर्दै संगठनलाई थप सक्रिय बनाउने, विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनासम्बन्धी विषयलाई प्राथमिकतामा राख्ने र पार्टीका विभिन्न संरचनालाई पूर्णता दिने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

  

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top