१२ असोज , काठमाण्डौ ।
दक्षिण–पश्चिम यमनको ताइजमा साउदी हवाई आक्रमणमा परी सात जनाको मृत्यु तथा ४० जना घाइते भएको हुथी सञ्चारमाध्यमको दाबी ।
हुथी विद्रोहीको ‘अल–मसिराह’ टेलिभिजनका अनुसार ताइजको एक प्रमुख बजारमा साउदी लडाकु विमानले आक्रमण गरेको केही मिनेटपछि उक्त क्षेत्रमा क्षति पुगेको हो ।

हुथी स्वास्थ्य निकायले घाइतेमध्ये बालबालिका पनि रहेको पनि जनायो ।
घटनाबारे साउदी अधिकारीहरूले तत्काल प्रतिक्रिया नदिएको र हुथी पक्षको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको अन्तराष्ट्रिय संचारमाध्यामहरुको भनाइ ।

हुथी प्रवक्ता याह्या सारीले शनिबार साउदी वायुसेनाले ताइज, मारिब, सादा, अमरान, इब्भ र हाज्जा प्रान्तमा २७ पटक हवाई आक्रमण गरेको दाबी गरेका थिए ।
साउदी अरबले भने राजधानी रियादतर्फ अघि बढिरहेका दुई हुथी ड्रोन खसालेको जनायो ।
रियादका विद्यालयहरूमा आइतबारदेखि एक साताका लागि घरबाटै पढाइ सञ्चालन गर्ने घोषणा ।
ताइज लामो समयदेखि हुथी विद्रोही र अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारका सेनाबीचको संघर्षको केन्द्रमा रहँदै आएको छ ।
साउदी नेतृत्वको गठबन्धनले यमनी सरकारलाई समर्थन गर्दै हुथीविरुद्ध सैन्य कारबाही गर्दै आएको छ ।



