१५ असोज , काठमाण्डौ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची ।
त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’, ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची ।
राष्ट्रियसभामा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछिन्।
प्रधानमन्त्री शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस गर्ने तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले समितिको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची ।



