२१ असोज , काठमाण्डौ ।
देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेकाले आज केही स्थानमा भारी वर्षाको सम्भावना ।
नेपाल मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग र वाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा दिउँसो भारी वर्षा हुनसक्ने ।

दिउँसो हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहने विभागले जनाएको छ।
बाँकी तराई भूभागमा आंशिक बदली रहने ।

हिमाली क्षेत्रका थोरै तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेससहित कोसी, वाग्मती र गण्डकीका तराई भूभागका थोरै स्थानमा पनि यस्तै मौसम रहने।
राति कोसी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली र तराईमा आंशिक बदली रहनेछ।
तराई क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ भने हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ ।



