काठमाडौँ, कात्तिक ८
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ ।इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने विश्वकप त्रिकेटको ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिईन् ।
चार दिन नेपालमा राखिने सो ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पु¥याइनेछ । त्यस्तै २८ गते आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ ।
पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो ।त्यस्तै २८ गते नै प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको घिमिरेले जानकारी दिइन् ।
आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो ।
विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक आउने लागेको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ ।
एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ ।
ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।