काठमाडौं ,मंसिर २
सर्वसाधारण जनतासमेतको लगानी रहेका २७ ओटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । त्रैमास सकिएको १५ दिनभित्र सार्वजनिक रुपमा सूचना जारी गर्नुपर्ने भए पनि नेपाल वित्तीय रिपोर्टिङ प्रणाली अनुसार वित्तीय विवरण बनाउन निर्देशन दिएसँगै अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणलाई समेत त्यही ढाँचामा लैजानुपर्ने भएपछि बैंकहरुलाई १५ दिनको थप समय दिइएको थियो । उक्त समयभित्र सबैले बैंकहरुले सोही ढाँचाअजनसार वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
बैंकहरुले सार्वजनिक गरेको उक्त अपरिष्कृत वित्तीय विवरणका आधारमा २७ ओटा बैंकहरुले कुल तीन महिनामा १० अर्ब ९० करोड २१ लाख ४१ हजार रुपैंया नाफा गरेका छन् । यो नाफा नियामकीय समायोजनपछिको स्वतन्त्र नाफा हो । अघिल्लो आर्थिक वर्षमा सोही प्रकृतिको नाफा ८ अर्ब १६ करोड ६२ लाख ६० हजार भएकोमा यो त्रैमासमा उक्त आकारमा २९.५४ प्रतिशतको सुधार गरेका हुन् ।
नाफाका आधारमा यो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड सबैभन्दा माथि रहेको छ । उसले १ अर्ब ५ करोड ४६ लाख ७० हजार रुपैंयाको फ्रि प्रोफिट कायम गर्दा यस्तो प्रकृतिको नाफा अर्ब कटाउने एकमात्र बैंक बनेको छ । दोस्रोमा रहेको नेपाल बैंक र तेस्रोमा रहेको नबिल बैंकले पनि खुद नाफा एक अर्ब कटाए पनि स्वतन्त्र नाफा अर्ब पुर्याउन भने उनीहरु चुकेका छन् ।
रिपाेर्टअनुसार, राष्ट्र बैंककाे मर्जर प्रक्रियाअघि समस्यामा रहेका वा त्यस्ता संस्थाहरुलार्इ गाभेर अघि बढेका बैंकहरुले याे त्रैमासदेखि तीव्र सुधार गर्न थालेका छन् । प्रभु बैंक, जनता बैंक, कुमारी बैंक लगायतकाे नाफामा ठुलाे सुधार भएका छन् ।
उक्त अवधिमा भारतीय बैंकहरुको संयुक्त पुँजीमा सञ्चालित २ बैंकहरु एभरेष्ट बैंक र एसबीआई बैंकको नाफा घट्दा अन्य २५ बैंकहरुको नाफा वृद्धि भएको छ । नेपाल बैंकले सबैभन्दा कम अर्थात् २.८१ प्रतिशत नाफा बढाउँदा जनता बैंकले सबैभन्दा बढी २९४.९५ प्रतिशत नाफा वृद्धि गरेको देखिएको छ ।

उक्त अवधिमा जनता बैंकसहित कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले दोब्बर भन्दा बढी नाफा गरेका छन् । एक अंकमा नाफा वृद्धि गर्ने बैंकमा नेपाल बैंक सहित नबिल बैंक, एनएमबी बैंक, कृषि बिकास बैंक, सिटिजन्स बैंक र सिभिल बैंक छन् ।
वाणिज्य बैंकको रिपोर्टमा देखिएका केही उल्लेखनीय तथ्यहरु
निक्षेपभन्दा कर्जा धेरै : सिभिल बैंक
सामान्यतया बैंक तथा वित्तीय संस्थाले १ रुपैंया निक्षेप लिँदा ८० पैसा मात्र कर्जा प्रवाह गनुपर्छ भन्ने मान्यता राखिन्छ । यद्यपि बैंकहरुको चुक्ता पुँजी र रिजर्भमा रहेको रकमको हकमा भने त्यस्तो व्यवस्था हुँदैन । यो आर्थिक वर्षमा सिभिल बैंकले ३९ अर्ब रुपैंया निक्षेप संकलन गरी ४३ अर्ब कर्जा प्रवाह गरेको रिपोर्ट सार्वजनिक गरेको छ । पुँजी धेरै तर व्यवसायको आकार सानो भएकोले यस्तो देखिन गएको हो ।
घट्दो निक्षेप : नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक
पहिलो त्रैमासमा अघिल्लो त्रैमासको भन्दा निक्षेप घटेको अवस्था नेपाल बैंकको रिपोर्टमा देखिएको छ । असार मसान्तमा ९९ अर्ब ८३ करोड रुपैंया निक्षेप रहेको बैंकको तीन महिनाको अवधिमा ६ अर्ब ४० करोड रुपैंयाले निक्षेप घटेको देखिएको हो । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप पनि ६७ अर्बबाट घटेर ६५ अर्बमा झरेको छ । बैंकमा निक्षेपलाई व्यवसाय विस्तारको महत्वपूर्ण सूचक मानिन्छ । यसले दीर्घकालमा नाफामा समेत असर गर्नसक्छ ।
नाफा घटाउँदै ‘भारतीय बैंक’
भारतीय बैंकहरुको संयुक्त लगानीमा स्थापित दुई प्रतिष्ठित बैंकहरुले यो त्रैमासमा नाफा घटाएका छन् । एभरेष्ट बैंक ४ करोड र एसबीआई बैंकले साढे ४ करोड नाफा घटाएका हुन् । देशमा वामपन्थी सरकार रहेको अवस्थामा भारतीय व्यवसायीहरुले व्यवसायमा सहजता महशुस नगरिरहेको अवस्थामा भारतीय व्यापारीहरुमै बढी निर्भर रहेका दुई बैंकहरुको नाफा घट्नुलाई महत्वपूर्ण मानिएको छ ।
नाफा दोब्बर, ईपीएस तेब्बर : एनआईसी एशिया बैंक
अघिल्लो आर्थिक वर्षको तीन महिनाको २७ करोड ८६ लाख नाफालाई दोब्बर बढीले ५८ करोड २२ लाख स्वतन्त्र नाफा गरेको एनआईसी एशिया बैंकले प्रतिशेयर आम्दानी भने करिब तेब्बर रहेको देखाएको छ । बैंकले ईपीएस १३ रुपैंया ८८ पैसाबाट बढाएर ३६ रुपैंया ७८ पैसा खुद नाफामा गणना गरिने ईपीएस खुद नाफा बढेसँगै बढेको हो, बैंकको चुक्ता पुँजी भने अघिल्लो वर्ष बराबर नै छ ।
तीन महिनामै अर्बपति : नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंक
खुद नाफाको आधारमा इन्भेष्टमेन्ट बैंक र नबिल बैंक तीन महिनामै ‘अर्बपति’ बनेका छन् । इन्भेष्टमेन्ट बैंकले स्वतन्त्र नाफा नै अर्ब कटाए पनि नबिल बैंकले भने खुद नाफा मात्र अर्ब कटाएको छ । नबिल बैंकको स्वतन्त्र नाफा भने ९३ करोड मात्र छ । (विकास न्युजबाट)