काठमाडौं,पुस ३
खानेपानी मन्त्रालयले ४५ दिनभित्रै काठमाडौंमा खानेपानी ल्याइपुर्याउने घोषणा गरेको छ । मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको इटालीको सीएमसीले आफ्नो कम्पनी टाट पल्टेको घोषणा गर्दै काम गर्न नसक्ने भनेपछि सिर्जना भएको अन्यौललाई चिर्दै मंगलबार मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् तोकिएको समयभित्रै खानेपानी काठमाडौं ल्याएर वितरण गरिसक्ने प्रतिवद्धता जनाएको हो । मन्त्रालयले हालकाे ठेकेदार कम्पनी सिएमसीले कामै नगरेकाे अवस्थामा विकल्प खाेजेरै भए पनि समयमा अायाेजना निर्माण सम्पन्न गर्ने दृढता समेत व्यक्त गरेकाे छ ।
मन्त्रालयले मेलम्ची आयोजनाको ९० प्रतिशत काम सकिएको, मेलम्ची सुन्दरीजलको २७ किलोमिटर सुरुङमार्ग खोलिएको, सुरुङको ढलान र फिनिसिङको काम पनि गरिसकिएको अवस्थामा अब भेन्टिलेसन साफ्ट, हेड वक्र्स, अडिट टनेलको गेट, सेन्सर क्यामेरा जडान लगायतका केही काम मात्र बाँकी रहेको कुनै विशेष परिस्थिति सिर्जना भएको अवस्था बाहेक अन्य अवस्थामा समयमै आयोजना निर्माण हुने प्रष्ट पारेको हो ।
मन्त्रालयले आयोजनाको निर्माण कार्य अघि बढिरहेकै अवस्थामा ठेकेदार कम्पनीका प्रमुख क्रिस्टियानो ग्रेको लगायतका टोलीले अनुमतिबिना आयोजनास्थलबाट भागेर नेपाल छोड्न लागेको थाहा भएपछि उनीहरुको अवस्था बुझ्न गृह मन्त्रालयलाई आग्रह गरेको र गृहले उनीहरुलाई निगरानीमा राखेको जनाएको छ । मन्त्रालयले पछिल्लो घटनाक्रमले आयोजनाको काम प्रभावित नहुने बताएको छ ।
मन्त्रालयले सोमबार र मंगलबार दिनभर मेलम्चीका सरोकारवाला पक्षहरुसँग छलफल गरिरहेको र परामर्शदाता कम्पनीलाई एक हप्ताभित्र मेलम्ची आयोजना सुरुङको प्राविधिक विश्लेषणसहितको प्रतिवेदन तयार पारी एक हप्ताभित्र पेश गर्न निर्देशन दिएको समेत जानकारी दिएको छ ।
राष्ट्रिय गाैरवकाे मेलम्ची आयाेजना बनाउन ठेकेदार कम्पनी सिएमसीले २०७० साल असार मसान्तमा ठेक्पा पाई ३ वर्षभित्र सम्पन्न गर्ने भने पनि भुकम्प र नाकाबन्दीका कारण आयाेजनाकाे निर्माण ढिलाे हुन गएकाे थियाे । वर्तमान् खानेपानीमन्त्री आएपछि आयाेजनाकाे काम द्रुततर ढंगले अघि बढिरहेकाे दाबी समेत मन्त्रालयले गरेकाे छ ।(विकास न्युजबाट)
