काठमाडौं, पुस १८
महान्यायाधिवक्ता कार्यालयले सरकारी पक्षका मुद्दालाई प्रभावकारी रुपमा बहस गर्नका लागि सरकारी वकिललाई विषयगत रुपमा विशिष्टीकरण तालीम दिएको छ ।
महान्यायाधिवक्ता कार्यालयको दोस्रो पञ्चवर्षीय योजनाअनुसार सरकारी मुद्दालाई प्रभावकारी रुपमा बहस गर्नका लागि विशिष्टीकरणको तालीम दिइएको हो । अहिलेसम्म महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिललाई संवैधानिक कानून र राजश्व कानूनमा तालीम दिइसकेको छ ।
सरकारी वकिल कुनै पनि विषयमा पोख्त नहुँदा प्रायः सरकारी पक्ष मुद्दा हार्ने गरेको थियो । महान्यायाधिवक्ता कार्यालयका सह(न्यायाधिवक्ता सञ्जीवराज रेग्मीले सरकार पक्षका मुद्दामा सरकारी वकिललाई प्रभावकारी रुपमा बहस गराउनको लागि तालीम दिएको बताए ।
‘विश्वविद्यालयको पाठ्यक्रममा कानुनका सामान्य कुरा मात्र पढाइ हुन्छ । मुद्दासम्बन्धी केन्द्रित गरेर पढाइ हुँदैन,’ उनले भने, ‘त्यसैले सरकारी पक्षबाट मुद्दा लड्ने सरकारी वकिललाई प्रभावकारी रुपमा प्रस्तुत हुनका लागि तालीम आयोजना गरिएको हो ।’
कार्यालयका प्रवक्तासमेत रहेका रेग्मीले तालीमपछि सरकारी पक्षका मुद्दा प्रभावकारी भएको बताए । उनका अनुसार पञ्चवर्षीय योजनामा कार्यालयले संवैधानिक कानुन, राजश्व कानून, भ्रष्टाचारसम्बन्धी कानून, सङ्गठित अपराध, बैंकिङ कसुर, साइवर अपराध र कर्मचारीको सेवासम्बन्धी कानुनमा तालीम दिइने छ ।
कार्यालयले जनसरोकारका अदालतमा बढी मुद्दा पर्ने विषयमा तालीम दिइएको हो । कार्यालयले १५ दिनको पाठ्यक्रम बनाएर ३० वटा कक्षा सञ्चालन गर्ने गरेको छ ।
उनले अब तीन वर्ष्भित्र २५ जनाका दरले बाँकी छ वटा विषयमा तालीम दिइने बताए । कार्यालयले विषयगत प्राथमिकताका आधारमा तालीम सञ्चालन गरेको छ ।
रासस