एजेन्सी, फागुन २४
भारतीय विपक्षी पार्टी कांग्रेस आइले आगामी लोकसभा निर्वाचनका लागि पहिलो चरणमा १५ सिटका लागि उम्मेदवार तय गरेको छ । नेतृ सोनिया गान्धी आफ्नो पुरानो स्थान रायबरेलीबाट नै चुनाव लड्ने भएकी छन् ।
कांग्रेस अध्यक्ष राहुल गान्धीले अमेठीबाट चुनाव लड्ने घोषणा गरेका छन् । यसअघि सोनिया अब चुनाव नलड्ने र उनले आफ्नो स्थानबाट छोरी प्रियंकालाई उम्मेदवार बनाउने चर्चा चलेको थियो । पहिलो सूचीमा प्रियंकाको नाम भने छैन ।
विहीबार जारी गरिएको सूचीमा उत्तर प्रदेशका ११ र गुजरातका चार सिटमा उम्मेदवार चयन गरिएको छ । सूचीमा कांग्रेस नेताहरु निर्मल खत्री, आरपीएन सिंह, सलमान खुर्शीद, इमरान मसूद, अनु टण्डन, जितिन प्रसाद लगायतको नाम छ ।