विराटनगर, फागुन २७
सुदुरपश्चिम प्रदेशमा आयोजना हुने प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता–२०७५ मा प्रदेश एकबाट सहभागि हुने खेलाडीलाई विदाई गरिएको छ । प्रदेश एक सामाजिक विकास मन्त्रालयले सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजनागरि प्रतियोगितामा सहभागि हुन जाने खेलाडीलाई विदाई गरेको छ ।
सो क्रममा सामाजिक विकास मन्त्री घिमिरेले सहभागि खेलाडीलाई फुलमाला र अबिर लगाइदिएर बिदाई गरे । विभिन्न ४ वटा बिधाका खेलमा सहभागि हुन लागेका प्रदेश एकका खेलाडी र ब्यवस्थापक सहितको टिममा ९२ जना छन् । धनगढीमा चैत्र १ गतेदेखि औपचारीकरुपमा शुरु हुने प्रतियोगिता ३ गते समापन हुने जनाइएको छ ।
प्रदेश एकको तर्फबाट फुटबलमा पुरुष टिम मात्र सहभागि हुने प्रतियोगितामा भलिबल,ब्याडमिन्टन र क्रिकेटमा भने महिला तथा पुरुषको टिमले सहभागिता जनाउने पूर्वाञ्चल क्षेत्रीय विकास समितिका अध्यक्ष रबिन नगरकोटीले जानकारी दिए । सातै प्रदेशका खेलाडी सहभागि हुने प्रतियोगितामा अंकका आधारमा विजयी घोषणा गरिने उनले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई क्रमशः १५ लाख, ८ लाख र ५ लाखको पुरस्कार राशी प्रदान गरिने जनाइएको छ । विदाई समारोहमा शुभकामना ब्यक्त गदै सामाजिक विकास मन्त्री घिमिरेले प्रदेश सरकारको १ नम्बर प्रदेश सबैभन्दा बेसको नारालाई सार्थकरुपमा स्थापित गरेर आउन सहभागि खेलाडीलाई शुभकामना दिए । प्रतियोगिता औपचारिकरुपमा चैत्र १ मा शुरु हुने भएपनि फुटबल खेल भने फागुन २९ मै हुने जनाइएको छ ।