विराटनगर, बैशाख १
भ्रष्टाचारविरोधी कविको पहिचान बनाएका प्रेमप्रसाद सञ्जेललाई विराट आदर्श साहित्यिक मञ्च विराटनगरले सम्मान गरेको छ ।विराटनगरमा स्रष्टा र सिर्जना कार्यक्रमको आयोजना गरेर सञ्जेललाई मञ्चले सम्मान गरेको हो ।
भ्रष्टाचारविरोधी राष्ट्रसेवक कर्मचारीका रुपमा आफूलाई उभ्याएका सञ्जेललाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, रमाप्रसाद रिजाल, वरिष्ठ गायक एलपी जोशी, मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । उन श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत पनि हुन् । उनका साहित्य सिर्जना भ्रष्टाचारविरोधी हुने गरेका छन् ।
त्यस्तै मञ्चले स्रष्टा र सिर्जनाको दोस्रो शृंखलाअन्तर्गत मकवानपुरकी कवि अनिता न्यौपाने, झापाका कवि धनकुटे कान्छो र मोरङका कवि रमेशचन्द्र अधिकारीको विशेष प्रस्तुति राखेको थियो । उनीहरू तीनैजनाले तीन–तीन वटा आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । सोही समारोहमा मञ्चले एक महिनाअघि आरोहण गुरुकुलमा आयोजना गरेको मुनामदन नाटकमा अभिनय गरेका कलाकारहरूलाई प्रशंसापत्र प्रदान गरेको थियो ।
त्यस्तै महेन्द्र मोरङ क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले मञ्चका नयाँ सदस्यहरूलाई सदस्यताको परिचयपत्र वितरण गरे । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटनको वातावरण सिर्जना गर्दै विभिन्न साहित्यिक कार्यक्रम गर्दै आएको मञ्चका अध्यक्ष कट्वाल दीपकले जानकारी दिए । मञ्चले यसअघि पनि स्रष्टा सम्मान, नाटक मञ्चनलगायतका कार्यक्रम गर्दै आएको कटवालले बताए ।