काठमाडौँ, बैशाख २४
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण खेल्ने भएका छन् ।झन्डै ६ महिना पछि घरेलु क्रिकेटमा फर्किन लागेका उनी अर्को महिना राजधानीमा सुरु हुने प्रधानमन्त्री कप खेल्ने भएका हुन् ।
प्रधानमन्त्री कप जेठ १ गते देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सञ्चालन हुँदैछ । उनले पछिल्लो पटक पुसमा भएको एभरेष्ट प्रिमियर लिग (इपिएल)विराटनगर वारियर्सबाट खेलेका थिए । फागुनमा भएको धनगढी प्रिमियर लिग (डिपिएल) पनि नखेलेका पारसले यसै महिना नेपालगन्जमा सम्पन्न आठौ राष्ट्रिय खेलकुदमा पनि व्यक्तिगत कारण देखाउँदै खेलेका थिएनन् ।
प्रधानमन्त्री कप पनि उनले पहिलो पटक खेल्न लागेका हुन् । पछिल्लो दुइ संस्करण देश बाहिर रहेका कारण खेल्न नपाएको पारसले बताएका छन् । पारसले यसपटक प्रदेश नम्बर ३ बाट प्रधानमन्त्री कप क्रिकेट खेल्ने जानकारी दिए ।
प्रधानमन्त्री कप आयोजनाका विषयमा आइतबार पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय टोलीका खेलाडीले अनिवार्य प्रधानमन्त्री कप खेल्नुपर्ने बताएका थिए ।
पारसले भने ‘म यसपटक पीएम कप खेल्ने छु । परिषदले अनिवार्य खेल्नुपर्छ भन्नु स्वभाविक हो । हरेक आयोजकलाई राष्ट्रिय खेलाडी प्रतियोगितामा खेलोस् भन्ने हुन्छ ।’ तर उनले यसपटक म एपीएफबाट नखेली प्रदेश ३ को प्रतिनिधित्व गर्ने बताएका छन् ।
लामो समय एपिएफबाट खेलेका पारसले यसपटक भने प्रदेशबाट खेल्न लागेका हुन् । ‘प्रदेशको संरचना बलियो बनाउन म प्रदेश ३ बाट खेल्न लागेको हुँ । एपीएफबाट मेरो सम्झौता पनि तीन वर्ष अघि नै सकिएको छ’ , उनले भने,‘ सम्झौता थप्ने कुरा त भइरहेको थियो । अहिले एपीएफमा युवा खेलाडी आएका छन् र ती खेलाडीले मौका पाउन भनेर मैले सम्झौता गरिन ।’
पारसले पछिल्लो पटक एपीएफबाट वि.सं.२०७३ मा विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुद खेलेका थिए । जसमा एपीएफले स्वर्ण पदक जितेको थियो । प्रधानमन्त्री कपमा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।
प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।