एजेन्सी, बैशाख २८
अमेरिकाले मध्यपूर्वमा मिसाइल सुरक्षा प्रणाली पठाएको छ । इरानसँगको सम्बन्धमा तनाव आइरहेका बेला अमेरिकाले मिसाइल सुरक्षा प्रणालीसहित एउटा लडाकु पानीजहाज पनि मध्यपूर्वमा तैनाथ गर्ने भएको छ । द युएसएस एरलिङ्टन नाम दिइएको सुरक्षा प्रणालीमा लडाकु जहाज र विमान रहेका छन्
। यो गल्फमा रहेको द युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुपमा सामेल हुने अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कतारमा रहेको बेसमा युएस बी–५२ बमर्स पनि पुगेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।
अमेरिकाविरुद्ध इरानबाट हुन सक्ने चुनौतिको प्रतिकारको तयारीका रुपमा पछिल्ला कदम चालिएको हुनसक्ने बताइएको छ । अमेरिकी सेनालाई इरानको तर्फबाट चेतावनी आएको भनिएको छ । अमेरिकाले चेतावनीका बारेमा विस्तृत जानकारी दिएको छैन । तर इरानले यसलाई निराधार भन्दै खारेज गरेको छ ।