काठमाडौं, बैशाख २९
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर स्वदेश फर्किएका छन् । आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेलेका उनी आईतबार दिउँसो नेपाल आएका हुन् । दिउँसो ५ ः १५ मा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई स्वागत गर्न क्रिकेट समर्थक तथा केही क्रिकेटका पदाधिकारीहरु पुगेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २ घण्टा ढिलो गरी ल्यान्ड भएको एयर इन्डिया विमानबाट ओर्लिँदा उनी हर्षित देखिन्थे ।खराब मौसमका कारण २ बजेर ३५ मिनेटमा ल्यान्ड हुने भनिएको बिमानले आकाशमै करिब २ घण्टा फन्को मारेको थियो ।
त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले आईपीएल यात्रा राम्रो भएको बताए । उनले टिममा ब्याटिङको खाँचो भएकोले आफु बेन्चमा बस्नुपरेको बताए । उनले भने ‘समग्रमा हेर्ने हो भने राम्रै भयो । गएको वर्षभन्दा बढि नै खेल्न पाएँ । राम्रो हुँदै गइरहेको छ । योपटक हाम्रो टिममा ब्याटिङको खाँचो हुँदा म केही खेलहरुमा बेन्चमै बस्नुर्पयो ।’
उनले टिमलाई तेस्रो बनाउन आफ्नो पनि योगदान रहेको बताए । उनले भने ‘आफ्नो प्रदर्शनबाट म सन्तुष्ट नै छु । टिमको प्रदर्शनमा पनि सन्तुष्ट छु । गएको वर्ष अन्तिममा रहेको टिम अहिले तेस्रो हुनु निकै राम्रो हो । तेस्रो पोजिसनमा दिल्ली आईपुग्न सबैको उतिकै महत्वपूर्ण योगदान छ भन्ने मैले बुझेको छु । मेरो पनि केही योगदान रह्यो होला ।’
प्रधानमन्त्री कप क्रिकेट नखेल्ने
सन्दीपले अर्को महिना आयोजना हुने प्रधानमन्त्री कप क्रिकेट नखेल्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा जेठ १ गते देखि ७ प्रदेश र ३ विभागिय टोलीको सहभागितामा प्रधानमन्त्री कप हुने बताइएको छ ।
सन्दीपले परिवारलाई समय दिन र आरामका लागि प्रधानमन्त्री कपमा प्रतिस्पर्धा नगर्ने बताएका हुने । ‘केहि समय आराम गर्छु,’ उनले भने,‘ यो समय परिवार र साथी भाईसँग बिताउन चाहन्छु । त्यसैले पिएम कप खेल्दिन ।’
सन्दीपले आइपिएलका ६ खेलमा ८ विकेट लिएका थिए ।