काठमाडौं । सरकारले पानी जहाज चलाउनका लागि जम्मा २ करोड ६२ लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि पानी जहाज कार्यालयलाई ५४ लाख रुपैंयाँ चालु खर्च र २ करोड ८ लाख पुँजीगत खर्च विनियोजन गरेको हो । प्रधानमन्त्री केपी ओलीले २०७५ फागुन २ गते पानी जहाज कार्यालय उद्घाटन गरेका थिए । कार्यालयमा सहसचिवको नेतृत्वमा १६ जना प्राबिधिकहरुको दरबन्दी रहेको छ ।
२०७५ पुस ३० गतेको मन्त्रिपरिषद बैठकले पानी जहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सरकारले नारायणी नदिमा पानी जहाज चलाउन सक्ने प्रारम्भिक प्रक्षेपण गरेको छ । भारतको मिनिष्ट्री अफ सिपिङ इण्डियाले नेपालको गण्डक नदि(नारायणी)सम्म आउने पानी जहाजको डीपीआर तयार पारिसकेको छ । जुन ठाउँ नेपालको सिमा भन्दा ४० किलोमिटर तल बाघा भन्ने स्थानमा पर्छ ।
गंगा नदि बेसिनबाट कार्गाे र पेसेन्जर बोक्ने जहाज नारायणी नदि हुँदै नेपालसम्म आईपुग्ने बताईएको छ । नेपालमा पानी जहाजको सम्भावना खोज्न गठित समितिका संयोजक माधव बेलबासेले दासढुंगासम्म पानी जहाज ल्याउन सकिने तथ्य फेला परेको बताए । ‘हामीले दासढुंगासम्म पानी जहाज ल्याउन सकिने तथ्य फेला पारेका थियौं, भारतले बाघासम्मको डीपीआर नै बनाईसकेको छ’, बेलबासेले भने ।
यो अध्ययनले नेपाललाई गंगा नदि हुँदै बंगलादेशसम्म पानी जहाज सञ्चालनका लागि बाटो खुल्ला गरेको थियो । दासढुंगाबाट नेपाल भारत सिमा हुँदै बेथिया, धुमरिया घाट, कल्याणपुर, वैशाली हुँदै गंगा नदिसम्म पानी जहाज कुद्ने भनिएको छ । त्यो जहाज गंगा नदिबाट कोलकत्ता तथा हल्दियासम्म पुग्नेछ । यसरी पानी जहाज सञ्चालनमा आएपछि नेपाललेको आयात तथा निर्यातमा ढुवानी लागत स्वात्तै घट्ने बताइन्छ । यस अघि नेपाल भारतीय सिमाको बाल्मिकी नगरसम्म अध्ययन गर्ने भनिएको थियो । पानी जहाज सञ्चालनबारे थप छलफल गर्न भारतीय टोली मार्च ३ देखि ९ तारिखमा नेपालमा आएको थियो ।
प्रधानमन्त्री केपी ओलीले २०७४ चैत २३ गते गरेको भारतको भ्रमणका क्रममा इनल्याण्ड वाटर वे सम्बन्धी सहमति गरेका थिए । सरकारले पानी जहाजको सम्भाव्यता अध्ययनका लागि ३० लाख रुपैंयाँ बजेट विनियोजन गरेको थियो । नेपाली भूभागमा पानीको गहिराई र नदिको चौँडाई पानी जहाज सञ्चालनका लागि उपयुक्त हुन सक्ने अवस्थामा छ । तर भारतले बिभिन्न ठाउँमा नदि तथा बाँध बाधेकाले पानीको सतह र नदिको चौँडाई कम भएकाले सिमा पारी भने केहि समस्या हुनसक्ने बताइन्छ ।
३ मिटर गहिराई र ६० मिटर चौडाईको नदिमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानी जहाज सञ्चालन गर्न सकिने अध्ययनहरुले देखाएका छन् ।
भारतले गंगा नदिको कालु घाटमा पानी जहाज सञ्चालनका लागि आवश्यक पूर्वाधारको निर्माण गरिरहेको छ र त्यहाँसम्म २ हजार मेट्रिक टनका जहाज ल्याउने योजना बनाएको छ । पाँच सय टन क्षमताका पानी जहाज नेपाल आउनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।