९ असार , विराटनगर ।
विराटनगर महानगरपालिका वडा नमबर १४ का जतुवाका वडाध्यक्ष बलदेव यादवको घरमा ५५ वर्षीय बृद्धमाथि मरणासन्न हुने गरी कुटपिट भएको छ । विवाहको बिषयमा विवाद हुंदा विराटनगर १४ का सेमानन्द यादवमाथि कुटपिट भएको हो । उनको अहिले स्थानिय विराट नर्सिङ होममा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
बिहेको कुरा चलाएर आएको केटीसंग छोरो राजेशले बिहे गर्न नमानेकै कारण उनी कुटिनु परेको हो । जेठ ३२ गते बिहेको कुरा छिन्नु छ भन्दै आएको समूहले उनलाई विराटनगर १४ जतुवाका वडाध्यक्ष यादवको घरमा लगेर कुटपिट गरेको पीडित पक्षले बताएका छन् ।
वडाध्यक्ष यादवको घरमा लगिएका उनलाई छोरा राजेश संग स्थानिय भोला यादवको छोरीसंग विवाह गर्न दबाब दिइएकोे पीडित पक्षले जनाएको छ । सो क्रममा आफुले विवाह होस चाहेपनि छोराले विवाह गर्न नमानेको जनाएपछि वडाध्यक्ष यादवको आदेश अनुसार आधा दर्जन बढीको समूहले निर्धात कुटपिट गरेको घाइतेका कान्छा छोरा मुकेश यादवले बताए । कुटपिटबाट गम्भीर घाइते भएका सेमानन्दको घांटीमा गम्भीर चोट लागेका कारण श्वास प्रवासमा समस्या उत्पन्न भएको छ ।
यता वडाध्यक्ष बलदेव यादवले भने आरोपको खण्डन गरेका छन् । दुई पक्षबीच विवाहको बिषयमा जेठ ३२ गते आफ्नो घरमा छलफल भएपनि कुटपिट नभएको दाबी उनले गरेका छन् ।