११ असार, काठमाडौँ ।
बाल कलाकार अनुभव रेग्मी चलचित्र ‘प्रेम गीत ३’ प्रेमको भूमिकामा छानिएका छन् । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार अनुभवले प्रेमको बच्चा बेलाको भूमिका निभाउने छन् ।
प्रेमको भूमिका नायक प्रदीप खड्का पहिल्यै फाइनल भएका हुन् भने उनका बाबुको भूमिकामा भर्खरै शिव श्रेष्ठ अनुबन्धित भएका छन् । नव नायक मनिष थापा र सुनिल थापालाई पनि निर्माण टिमले चलचित्रका लागि अनुबन्ध गरिसकेको छ । यसैबिच गीतको भूमिकाको लागी छानिएका २५ युवतीबाट पाँच छानिएका खबर आएको छ ।
क्रिस्टिना गुरुङ, स्नेहा पौडेलसँगै रिया न्यौपाने टप ५ मा परेका छन् भने बाँकी दुईको नाम अझै गोप्य राखिएको छ । केही दिनमा निर्माण पक्षले सम्पूर्ण ५ को नाम सार्वजनिक गर्ने जानकारी दिएको छ ।
‘प्रेम गीत ३’ लाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गर्दै छन् भने सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दै छन् । आउँदो नयाँ वर्षमा प्रदर्शन गर्ने गरी चलचित्रको छायाङ्कन सुरु हुने निर्माण टिमले बताउँदै आएको छ ।