विदेशमा श्रम गरेका नेपाली स्वदेशमा सफल उद्यमी

३० असार ७६, सोमबार

३० असार, काठमाडौँ ।

Advertisement

विभिन्न बाध्यता तथा रोजगारीका क्रममा विदेशमा पुगेर सङ्घर्ष गरेका नेपालीले स्वदेश फर्केर सफल व्यवसायी बनेर रोजगार सिर्जना गरेका छन् । वैदेशिक रोजगारमा आर्जन गरेको पूँजी र अनुभवलाई स्वदेशमा उपयोग गरी मुलुकको विकास र समृद्धिमा टेवा पु¥याउने उद्देश्यले उनीहरु केही वर्षअगाडि स्वदेश फर्केका थिए ।

कृषि तथा उत्पादनका क्षेत्रमा योगदान गरी उत्कृष्ट व्यवसायी बनेका त्यस्ता उद्यमीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान तथा पुरस्कार प्रदान गर्न आयोजना गरेको कार्यक्रममा उनीहरुले प्रस्तुत गरेका कथा, व्यथा र पीडा सुन्नेका लागि प्रेरणादायी थियो । दुबईमा करीब छ वर्ष बसेर स्वदेश फिर्ता भएलगत्तै कान्तिपुर पोल्ट्री फार्म स्थापना गरेका नवराज पौड्यालले उद्यमी बन्ने रहरले कुखुराको चल्ला कोरल्ने व्यवसाय शुरु गरे । अहिले ४८ जनालाई रोजगार दिएको उक्त कम्पनीले गत वर्ष सबै खर्च कटाएर रु ७० लाख नाफा गरेको थियो । उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कारबाट उहाँलाई नगद रु एक लाखसहित आज पुरस्कृत गरिएको छ । व्यवस्थापनका विद्यार्थी पौड्यालले स्वदेशमा रोजगारीको पर्याप्त सम्भावना रहेको विचार व्यक्त गरे ।

Advertisement

उद्यमी शर्मिला अधिकारीले पनि करीब पाँच वर्ष संयुक्त अरब इमिरेट्स (दुबई)मा सौन्दर्यकलासम्बन्धी कार्यबाट आर्जन गरेको रकम स्वदेश ल्याएर उत्पादनशील क्षेत्रमा लगानी गर्ने उद्देश्यले नेपाल फर्किए । उनले पशुपालन, तरकारी तथा फलफूल उत्पादनका क्षेत्रमा लगानी गर्ने अभिप्रायले रामलक्ष्मण कृषि फार्म, राउत एण्ड सन्स बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म कीर्तिपुरमा स्थापना गरेको केही वर्षमा सफल उद्यमीको सूचीमा अटाए ।

नगद ५० हजारसहितको राष्ट्रिय पुरस्कार प्राप्त गरेका उनले अहिले १५ जनालाई रोजागारी दिएका छन् । प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिनुभएका अधिकारीको उत्पादनले बजारको माग धान्न सकेको छैन् । नगद ५० हजार राशिको उद्यमी राष्ट्रिय पुरस्कारबाट दीपक चापागार्इं, मनोजकुमार भारती र त्रिलोक पनेरुलाई सम्मान गरिएको छ । सोही पुरस्कार उद्यमीद्वय निरबहादुर राउत र एकबहादुर सिङ्ताङलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

Advertisement

यहाँ आज आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकको दक्षताले उनीहरु सक्षम रहेको बताउँदै अन्तर्राष्ट्रिय महासन्धिअनुसार उनीहरुको श्रमको सुरक्षा संरक्षण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताए । मुलुकको कूल ग्रार्हस्थ्य उत्पादनमा विप्रेषण क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै उनले भने, “अन्तर्राष्ट्रिय श्रम बजारमा योग्य श्रमिक आपूर्ति गर्ने मुलुकमा अहिले नेपाल पर्दछ । नेपाली श्रमिकको हक, हित तथा अधिकारका लागि सरकारले अडान राख्दछ ।”

छ वर्ष दक्षिण कोरियामा बसेर फर्केका उद्यमी भारतीले फिट वेल गार्मेन्टसमार्फत ९५ जनालाई काम दिनुभएको छ । उक्त कार्यक्रममा पुरस्कृत हुँदै गर्दा उनले भने, “मेरो कम्पनीले बेरोजगार युवालाई काम सिकाउने र काम दिने गर्दछ, सेना, प्रहरीलगायत ठूला सङ्घ संस्थालाई तयारी पोशाक आपूर्ति गरेका छौँ ।”

मन्त्रालयले उनीहरुको कम्पनीको लगानी, उपलब्ध गराएको रोजगारीको वास्तविकता, सरकारलाई नियमित तिर्ने करलगायत ११ विषयलाई आधार बनाएर वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुङ्गानाको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरेको थियो । राम्रो पढेलेखेका युवा तथा दक्ष जनशक्ति सम्पन्न राष्ट्रमा तथा अलि अलि व्यावसायिक ज्ञान भएका जनशक्ति विकासोन्मुख राष्ट्रमा र अलि कमजोर आर्थिक अवस्था भएका नेपाली श्रमिक खाडी मुलुकमा श्रमका लागि बाहिरिएका छन् । करीब ५० लाख युवा जनशक्ति विदेशमा रहेको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top