१० साउन, बिराटनगर ।
मोरङका बिभिन्न स्थानका सर्वसाधरणले घर–घरमै निःशुल्क उपचार पाउँन थालेका छन् । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान सञ्चालन गरी घरमै डाक्टर पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईदिएका छन् ।
६ महिना अघिबाट सुरु भएको यो अभियानबाट मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे, कानेपोखरी लगायत स्थानका करिव १० हजार बिरामीले घरमै निःशुल्क उपचार पाएका छन् । गरीबीका कारण पैसाको अभावमा कुनैपनि बिरामीले अकालमै मृत्युवरण गर्न नपरोस भनेर ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान सञ्चालन गरिएको डा.सुनिल शर्माको भनाई छ ।
अभियान अन्र्तगत शनिबार बाहेक हरेक दिन एमबीबीएस डाक्टर र नर्सको टोली बिरामीको घर–घरमा पुग्छन् । उनीहरुले सामान्य अवस्थाका बिरामीलाई टोलमा भेला गरेर उपचार गर्छन् । गम्भीर बिरामीलाई घरैमा पुगेर उपचार गर्ने गरिएको छ । घरमा उपचार सम्भव नहुँदा आफ्नै एम्बुलेन्समा नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गर्ने गरिएको अभियानमा खटिएका डा.हिमलाल भण्डारीले जानकारी दिए ।
घरघरमा पुग्ने डाक्टरको टोलीले बिरामीको रोग पहिचान, भिडियो एक्सरे, ब्लड टेष्ट, ईसीजी लगायत सेवा प्रदान गर्ने गरेको छ । अस्पतालमा प्रति बिरामी करिव ३ हजार पर्ने उक्त सेवा बिरामीले घरमा निःशुल्क पाउँछन् । गंभीर बिरामीको आर्थिक अवस्था मूल्यांकन गर्दा बिपन्न पाईएमा नोबेलमा ल्याएर पूर्ण रुपमा निःशुल्क उपचार गर्ने गरिन्छ । यो अभियानबाट यसरी निःशुल्क उपचार पाउँने बिरामीको संख्या करिव ५ सय पुगेको नोबेल अस्पतालले जनाएको छ ।
घरघरमै निःशुल्क उपचार पाउँदा बिरामीहरु पनि हर्षित भएका छन । मोरङका उत्तरी क्षेत्र नोबेल संचालक शर्माको चुनावी क्षेत्र हो । गएको प्रतिनिधीसभाको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट सो क्षेत्रमा नेकपाका भानुभक्त ढकालसँग पराजित भएका थिए ।