Nepal Times
Nepal Times
3
Shares

धुर्मुस–सुन्तलीद्वारा फिल्म ‘सेन्टी भाइरस’ निर्माणको औपचारिक घोषणा

धुर्मुस–सुन्तलीद्वारा फिल्म ‘सेन्टी भाइरस’ निर्माणको औपचारिक घोषणा

२३ साउन, काठमाडौँ ।
चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिरहेका हाँस्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले नयाँ चलचित्र बनाउने भएका छन् ।बुधबार राजधानीमा एक कार्यक्रमका बीच उनीहरुको ‘सेन्टी भाइरस’ नाम जुराइएको चलचित्रको घोषणा गरिएको हो ।

भाद्र ३ गतेबाट छायांकन हुने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् ।  सुरुवातमा फिल्मको नाम ‘एन्टी भाइरस’ जुराइएको थियो । त्यसपछि ज्योतिषले ‘एस’ बाट नाम राख्न सुझाव दिएपछि सेन्टी भाइरस बनाईएको हो । ‘सेन्टी भाइरस’ को कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

फिल्ममा ‘धुर्मुस–सुन्तली’ स्वयंको प्रमुख भूमिका रहनेछ । सामाजिक व्यंग्यमा निर्माण हुने फिल्ममा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय रहने कार्यक्रममा जानकारी दिईएको छ । रुपाकोट र पोखरामा छायांकन हुने फिल्मलाई निर्देशक गुरुङका विश्वासिला छायाँकार शैलेन्द्र डि. कार्कीले खिच्नेछन् ।

कलाकार धुर्मुसले सामाजिक कार्यमा व्यस्त रहँदा कलाकारितामा समय दिन नपाएको बताउँदै अब फिल्म अभिनयबाट पुनः कलाकारितामा फर्किएको बताए । ‘सेन्टी भाइरस’ को निर्माण लागत अनुमानित २ करोड रहेको उनको भनाई छ । उनले फिल्मको मुनाफाको १५ प्रतिशत रंगशाला निर्माण र ५ प्रतिशत चलचित्र कलाकार संघको भवन निर्माणका लागि हस्तान्तरण गरिने पनि जानकारी दिए ।

त्यस्तै, कलाकार कुञ्जनाले बाल्यकालदेखि नै आफूलाई फिल्ममा अभिनय गर्ने रहर भएको बताउँदै अब ‘सेन्टी भाइरस’ बाट पूरा हुन लागेकोमा खुसी व्यक्त गरिन् । निर्देशक रामबाबुले फिल्मलाई उत्कृष्ट बनाउने प्रयत्न आफ्नो रहने बताए ।

राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहने यो फिल्मलाई डिन्डु लामा ह्योल्मोले निर्माण गर्नेछन् भने सह–निर्मातामा फूर्पा लामा रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.