विराटनगर, फागुन ७
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका कुनै पनि निर्णय खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ ।
काँग्रेस नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अघिल्ला सरकारले गरेका निर्णय नयाँ सरकारलाई खारेज नगर्न चेतावनी दिएका हुन् । उनले प्रजातन्त्रमा अघिल्ला सरकारले लिएका निर्णय नयाँ सरकारले खारेज गर्नु न्यायसंगत नहुने तर्क समेत गरे ।
संविधान, कानुन र मुलुकमाथि आर्थिक भार थोपर्ने गरी देउवा नेतृत्वको सरकारले लिएका निर्णय फिर्ता लिने नयाँ सरकारले तयारी गरिरहेको छ । आज काठमाडौंमा आयोजित नेपाल आंशिक प्राध्यापक संघको राष्ट्रिय भेलामा बोल्दै उनले आंशिक प्राध्यापकहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरे ।
कांग्रेस नेता प्रधानले आफूहरुको समस्या समाधान नभए अनसन बस्न तयार हुन आंशिक प्राध्यापकहरुलाई सुझाव पनि दिए । यसअघि कांग्रेस नेतृत्वको सरकारले भने आंशिक प्राध्यापकहरुको मागलाई सम्बोधन गर्न सकेको थिएन ।