काङ्ग्रेसले मात्र देशको विकास गर्न सक्छ : नेता पौडेल

११ असोज ७६, आइतबार

११ असोज, काठमाडौँ ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारसँग असन्तुष्ट भएका व्यक्तिलाई काङ्ग्रेसले आकर्षित गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम’मा उनले भने “वर्तमान सरकार जनताको हितमा काम गर्न नसकेकाले धेरै जनता रुष्ट भएका छन्, ती रुष्ट जनतालाई काङ्ग्रेसले आकर्षित गर्न सक्नुपर्दछ ।”

Advertisement

वरिष्ठ नेता पौडेलले अहिलेको समयमा काङ्ग्रेसका नेता तथा कार्यकर्ता अल्छि भएर बस्न नहुने बताउँदै संविधान निर्माणको नेतृत्व गरेको काङ्ग्रेसले मात्र देशको विकास गर्न सक्ने बताए । उनले कम्युनिष्ट पार्टीमा सिद्धान्तको टुङ्गो नभएकाले ‘सी’ पथको छलफलमा लागेको आरोप लगाए ।

काङ्ग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीभित्र देखिएको समस्या समाधानमा काङ्ग्रेस केन्द्रीय समिति लागेको बताए । “खाली भएको भ्रातृ तथा शुभेच्छुक संस्थाले चाँडै पूर्णता पाउँछ”, उनले भने।

Advertisement

नेपाली काङ्ग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले वर्तमान सरकार सत्ताको दुरुपयोग गरेर गाउँमा रहेका काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई दुःख दिने काममा लागेको आरोप लगाउँदै लमजुङ काङ्ग्रेसलाई बलियो बनाउन सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारी, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, प्रदेशसभा सदस्य मनकुमारी गुरुङ, नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष सुमन बसौलालगायतले स्थानीय तह बलियो भए मात्र पार्टी बलियो हुने भएकाले स्थानीय तह बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top