विराटनगर, फागुन ९
विराटनगरमा अन्तर विद्यालय जिल्लास्तरीय नाटक उत्सव हुने भएको छ । आगामी जेठ ४ गतेदेख विराटनगरस्थित गुरुकुलमा १० दिनसम्म मञ्चन गरिने नाटक उत्सवको तयारीसमेत शुरु गरिएको छ ।
विद्यालयका विद्यार्थीलाई प्रत्यक्षरुपमा सहभागी गराएर नाटक उत्सव सम्पन्न गर्न आजबाट विद्यार्थीहरुका लागि प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । राष्ट्रिय सभा सदस्य खेम नेपालीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीका लागि लेखन, निर्देशन र अभिनय प्रशिक्षण कार्य शुरु गरिएको छ ।
आयोजक सुमेरु कला सरोबरका अध्यक्ष सुवलमणि सापकोटाले तीनदिने प्रशिक्षणको क्रममा विभिन्न विद्यालयका विद्यार्थीलाई नाटकको निर्देशन, स्क्रीप्ट लेखन र अभिनयसम्बन्धी आधारभूत प्रशिक्षण दिइने बताए । विद्यार्थीलाई रंगकर्मी सविन कट्टेल, उद्धव सापकोटा र अनिल कुर्मीलगायतले प्रशिक्षण दिनेछन् ।